काठमाडौ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सुरक्षा र व्यवस्थापनसँग सम्बन्धित सबै निकायका प्रमुखहरूसहित विमानस्थल व्यवस्थापन र सामान निकासी प्रक्रियाबारे आज अनुगमन गरेका छन् ।
उनले विमान अवतरणदेखि यात्रु-कर्मचारीको प्रवेश, तिनीहरूको हाते ब्याग र कार्गो निकासी प्रक्रियासम्मको मिहिन अनुगमन गरेका हुन् ।
गृह मन्त्रालयका सचिव सहितका उच्च अधिकारीहरू, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग, अध्यागमन विभाग र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल लगायत कार्यालयका प्रमुखहरू गृहमन्त्रीसँगै अनुगमनमा गएका थिए ।
विमानस्थलको बाटो भएर छिरेको सुन दुईदिनअघि भन्सार पास समेत भएर बाहिरिदै गर्दा राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो। त्यस प्रकरणले विमानस्थल व्यवस्थापन, सुरक्षा, निकासी तथा भन्सार प्रक्रियाको त्रुटी उजागर गरेको थियो।
अनुगमनपछिको संक्षिप्त सम्बोधनमा गृहमन्त्री श्रेष्ठले विमानस्थल सम्बन्धित निकायले एकअर्काको कमजोरी देखाउने भन्दा पनि समन्वयात्मक र एकीकृत भएर काम गर्नुपर्ने बताए ।
‘राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय सुरक्षाका दृष्टिले पनि अन्तराष्ट्रिय विमानस्थल हाम्रो पहिचान हो,’ उनले भने – ‘यसैलाई प्रयोग गरेर हुने अपराध र राजस्व छलीविरुद्ध सबै जिम्मेवारहरू कठोर हुनुपर्छ। तर यात्रु र पर्यटकप्रति भने विनम्र हुनुपर्छ ।’
वर्तमान सरकारले सुशासन, गुणात्मक आर्थिक सामाजिक विकास र प्रशासनिक सुधारका पक्षमा कुनै कसर बाँकी नराख्ने, प्रधानमन्त्री प्रचण्डले त्यही स्पिरिटमा काममा गति दिएका र सुन तस्करीबारेको छानबिन समितिले यसको जराजरामा पुगेर कार्बाही र समाधान सुझाउने विश्वास गृहमन्त्री श्रेष्ठले लिए ।
