काठमाडौं । प्रहरी प्रधान कार्यालयले संगठनमा विशेष योगदान तथा उत्कृष्ट काम गरेको भन्दै ९ जनालाई विशेष बढुवा गरेर पुरस्कृत गरेको छ ।
प्रहरी महानिरीक्षक (आईजी) बसन्तबहादुर कुँवरले संगठनको नीति नियममा रहेर राम्रो काम गरेका प्रहरीहरुलाई विशेष बढुवा दिएर पुरस्कृत गरेका छन् ।
प्रहरी नियमावली २०७१ को नियम ३९ मा उल्लेख भएको विशेष बढुवाको प्रावधानअनुसार यो वर्ष ९ जनाको विशेष बढुवा गरिएको हो ।
वरिष्ठ सईमा विशेष बढुवा हुनेमा तिलराम बोहरा सार्की छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान दरबन्दी भएका बोहराले उत्कृष्ट काम गरेको भन्दै सईबाट वरिष्ठ सईमा बढुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
त्यसैगरी दुई असईलाई सईमा विशेष बढुवा गरिएको छ । जसमा अर्जुन सेट्ठी र वामदेव घिमिरे छन् । सेट्ठी लामो समय जिल्ला प्रहरी परिसर काठमाडौंमा बसेर अपराध अनुसन्धानमा काम गर्दै आएका व्यक्ति हुन् ।
कोभर्ट अपरेशनमा विशेष योगदान पुर्याएको भन्दै सेट्ठीलाई विशेष बढुवा गरिएको हो । घिमिरे भने अख्तियार दुरुपयोग अनुसन्धानमाको बुटवल कार्यालयमा रहेर काम गरेका प्रहरी कर्मचारी हुन् ।
त्यसैगरी सहायक हवल्दारबाट वरिष्ठ हवल्दारमा ५ जनाको विशेष बढुवा गरिएको छ ।
वरिष्ठ हवल्दारमा बढुवा हुनेमा सोलुखुम्बु दरबन्दी भएका सुवास नेपाली, सीआईबीमा कार्यरत लक्ष्मण सापकोटा, लागुऔषध नियन्त्रण ब्यूरोमा कार्यरत भुदरमणि जोशी, वडा प्रहरी कार्यालय बिर्ता, पर्सा दरबन्दी भएका गन कुमार खण्डलुक र प्रहरी प्रधान कार्यालयको सुरक्षा सेवा व्यवस्थापन महाशाखा अंगरक्षक गणमा कार्यरत उपेन्द्र चौधरी छन् ।
त्यसैगरी प्रहरी प्रधान कार्यालयको मर्यादा पालक इकाइमा कार्यरत प्रहरी जवान लोचन अधिकारीलाई विशेष बढुवा गर्दै सहायक हवल्दार बनाइएको छ ।
![आईजी कुँवरले गरे ९ जना प्रहरीको विशेष बढुवा [सूचीसहित]](https://scoopkhabar.com/wp-content/uploads/2023/07/1390E482-B76A-4D45-90F5-5A0E8E469267.jpeg)