काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति स्व. गिरिजाप्रसाद कोइराला आफ्नो प्रेरणाको स्रोत रहेको बताएका छन् ।
सोमबार स्व. कोइरालाको एक सयौँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले स्व. कोइराला आफ्नो जीवनको प्रेरणाको सेत रहेको बताएका हुन् ।
‘पहिलो भेटदेखि अन्तिम भेटसम्म गिरिजामा कुनै दुविधा, आशंका देखिनँ। बरु मैले गल्ती गरेँ, उहाँले गल्ती विल्कुल गर्नु भएन, प्रचण्डले भने, ‘उहाँसँग गरेका कतिपय प्रतिबद्धता पुरा गर्न सकिनँ। उहाँको चाहना विपरीत निर्णय गर्दा पनि उहाँले विश्वास गर्न छोड्नुभएन ।’
त्यस्तै प्रचण्डले कोइरालालाई गणतन्त्रको पहिलो राष्ट्रपतिमा प्रस्ताव नगरेकोमा आफूलाई पश्चात्ताप रहेको समेत बताए ।
‘उहाँलाई राष्ट्रपतिको प्रस्ताव नगरिराख्दा सायद उहाँले मलाई पहिलाको जस्तो भरोसा र विश्वास गर्नुहुन्न कि जस्तो लाग्थ्यो तर उहाँले त्यस्तो गर्नुभएन । मैले प्रधानमन्त्रीबाट राजीनामा गर्ने मनस्थिति बनाएपछि पटक पटक राजीनामा नदिन भन्नुहुन्थ्यो,’ प्रचण्डले भने ।
प्रचण्डले कोइरालामा राजनीतिक सुझबुझ र दुर्दृष्टिकै कारण अहिलेको परिवर्तन सम्भव भएको पनि बताए ।
