काठमाडौं । मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयमा तालाबन्दी भएको छ । ‘जनयुद्धका शहीद’ परिवारले मन्त्रालयमा तालाबन्दी गरेका हुन् ।
शहीद प्रतिष्ठानले दिने घोषणा गरेको ३ लाख नदिएको भन्दै मन्त्रालयमा तालाबन्दी गरिएको शहीद परिवारका सदस्य राजु महतोले बताए ।
‘जनयुद्धका शहीद’ परिवारले मन्त्रालयमा तालाबन्दी गर्नुअघि मुख्यमन्त्री सरोजकुमार यादवलाई भेट्ने प्रयास गरे पनि मुख्यमन्त्रीसँग भेट्न सकेनन् ।
मधेश सरकारले गत वर्ष नै ‘जनयुद्धमा शहीद’ भएका परिवारलाई किस्ताबन्दीमा ३ लाख उपलब्ध गराउने घोषणा गरेको थियो । प्रतिष्ठानले तीन वर्षसम्म एकरएक लाख उपलब्ध गराउने कार्यक्रमअन्तर्गत यसपटक शहीद परिवारका सदस्यले पैसा पाएका छैनन् ।
सरकारले गत फागुन २९ गते राजपत्रमा प्रकाशन गरेको शहीदको नाम र ठेगानाको आधारमा रकम दिने भनेको छ । शहीद परिवारले गतवर्ष जस्तै प्रमाण पत्रको आधार पाउनुपर्ने माग गरेका छन् ।
शहीद घोषणामा कतिपयको नाम र ठेगाना गलत भएकाले प्रतिष्ठानले सच्याएर मात्र दिने र सो काम सरकारको भएको महतो बताउँछन् ।
