काठमाडौं । काठमाडौं महानगरपालिकाले बालुवाटारमा रहेको ललिता निवासको जग्गा संरक्षण गर्न तारबार लगाउने भएको छ । मेयर बालेन्द्र साह बालेनको निर्देशनमा नगरप्रहरीले तारबार गरेको हो ।
आइतबार दिउँसो नगरप्रहरीले खाली जग्गामा तारबार लगाएको हो । बालुवाटारस्थित ललिता निवासको खाली जग्गामा तारबार लगाउने, बनिरहेका घर तथा भौतिक संरचना निर्माणको काम रोक्न लागेको काठमाडौँ महानगरपालिका प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए ।
बहुचर्चित जग्गा हिनामिना प्रकरणको रुपमा परिचित सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा किर्ते गरेर विभिन्न व्यक्तिका नाममा नामसारी भएको थियो ।
विसं २०४९ सालदेखि २०६९ सालसम्ममा ललिता निवासको जग्गा किर्ते गरी व्यक्तिको नाममा हत्याइएको थियो । यो जग्गा घोटाला प्रकरणमा नेपाल प्रहरीको सीआईबीले अनुसन्धान गरिरहेको भने अदालतमा मुद्दा प्रक्रिया पनि चलिरहेको छ ।
प्रहरीले यो प्रकरणमा केही भिआईपीहरुलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको अवस्था छ ।
