काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले(माओवादीबीचको एकता बचाउन नसकिएको भन्दै अब कमजोरीको समीक्षासहित नेकपातिरै फर्कने जमर्को गर्नुपर्ने बताएका छन् ।
कम्युनिष्ट पार्टीका संस्थापक स्व नारायणविलास जोशीको ३४ औं स्मृति दिवसको अवसरमा बोल्दै प्रधानमन्त्री प्रचण्डले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई सँगै राखेर कमजोरीको समीक्षा गर्दै नेकपातिरै फर्कने कोशिस गर्नुपर्ने बताएका हुन् ।
उनले आफू र एमाले अध्यक्ष केपी ओली मिलेपछि धेरैलाई भय पैदा भएपनि एकता जोगाउन नसकिएको भन्दै दुखेसो पोखे ।
विश्वभरकै कम्युनिष्ट आन्दोलनको इतिहासमा एकता, संघर्ष विभाजनबाट गुर्जिदै अगाडि बढेको उदाहरण दिँदै फेरि एकपटक एकता गर्न सबैले चिन्तन गर्नुपर्ने बताए ।
प्रधानमन्त्री प्रचण्डले हिजोको दिनमा कम्युनिष्ट आन्दोलन बचाउन नसक्नुको कारण खोजेर गम्भीर समीक्षा गर्नुपर्नेतर्फ ध्यानाकर्षण गराए ।
‘सबैले चिन्तन गर्नुपर्यो कि हिजो केकारणले एकीकृत भएको कम्युनिष्ट आन्दोलन बच्न सकेन त्यहाँ विचारमा, राजनीतिमा, आचरण र संस्कृतिमा भावनामा कहाँ ऋुटी थियो । के प्रकृतिको कारण हाम्रो विभाजन भयो भन्ने गम्भीर समीक्षा गरेर त्यसबाट शिक्षा लिएर अगाडि जाने हामीले जमर्को गर्नुपर्छ,’ उनले भने ।
