काठमाडौं । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, रामनगर चितवनले मुग्लिन–नारायणगढ सडकमा गएको पहिरो पन्छाउन अझै ४ घण्टा लाग्ने बताएको छ ।
कार्यालय प्रमुख प्रहरी उपरक्षिक (एसपी) रवि पौडेलले मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत तुइन खोलाको पहिरो पन्छाउन अझै ४ घन्टा लाग्ने बताएका हुन् ।
गएराति ११ बजे पहिरो खसेपछि अवरूद्ध भएको सडक खुलाउन चारवटा स्काभेटर परिचालन गरिएको एसपी पौडेलले बताए ।
‘अहिलेपनि माथिबाट ठुल्ठूला ढुंगा झर्ने क्रम नरोकिएकाले सवारी आवागमन चलाउन अझै केही घण्टा समय लाग्ने भएको छ,’ एसपी पौडेलले भने, ‘बिहानैदेखि स्काभेटर प्रयोग गरिएको भए पनि पहिरो पन्छाउन सकिएको छैन ।’
शनिबार दिउँसो पनि पहिरो पन्छाएर गाडीहरू आवतजावत गराइएको थियो । तर, गएराति ठूलो पहिरो आएर बाटो अवरुद्ध पारिदिएको थियो ।
