काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस बदल्ने अभियानमा आफू लागि परेको बताएका छन् । उनले कांग्रेस बदल्नका लागि आफू महामन्त्री पद त्याग गर्न पनि तयार रहेको पनि बताए ।
नेपाली कांग्रेस दोलखा–काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै थापाले दाग लागेको कांग्रेसको महामन्त्री बन्नुभन्दा सफा कांग्रेसको कार्यकर्ता भएर बस्न आफूलाई मन भएको बताए ।
एउटै व्यक्ति ५/६ पटक प्रधानमन्त्री बन्ने कुराले पार्टी नचल्ने भएकाले कांग्रेस, एमाले र माओवादीजस्ता पुराना पार्टीहरु आज एकसाथ संकटमा पर्न गएको उल्लेख गर्दै उनले आफूले व्यक्तिको नभई पार्टीनै बदल्ने कुरा गरेको बताए ।
महामन्त्री थापाले डेमोक्रेसीमा एउटै व्यक्ति पटक पटक प्रधानमन्त्री हुने कुनै पनि देश नभएको दावी समेत गरे । ‘संसारमा एउटा त्यस्तो देश मलाई बताइदिनुस्, जुन देशमा व्यक्ति, एउटा नेता ५ पटक, ६ पटक प्रधानमन्त्री भएको होस् । कहीँ हुँदैन । कुनै डेमोक्रेसीमा हुँदैन ।’
थापाले भने, ‘नेपालमा आज कांग्रेस, एमाले, माओवादी पार्टी सबै एकसाथ संकटमा पर्नुको थुर्पै कारण मध्येको मूल कारण भनेको ती पार्टीको नेताहरु खासगरी पार्टीहरु जमेको पोखरी जस्तो भयो ।’
महामन्त्री थापाले कांग्रेस बदलिए मात्रै देश बदलिने भएकाले कांग्रेस बदल्ने अभियानमा जुटन पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे ।
