काठमाडौं । रौतहटमा दाइजो नल्याएको भन्दै श्रीमती र छोरीको हत्या भएको छ। मौलापुर नगरपालिकामा श्रीमानसहित परिवारका सदस्यहरु मिलेर आमा छोरीको हत्या गरेको आरोप छ ।
मौलापुर नगरपालिका,४ बौधा पतौरा धिरेन्द्र साहकी श्रीमती २४ वर्षीय माला भन्ने कविता साह र उनकी दुई वर्षकी छोरी आरोही साहको शुक्रबार राति परिवारका सदस्यहरुले निर्घात कुटपिट गरेर हत्या गरेका हुन् ।
उनीहरुको तीन वर्षअघि विवाह भएको थियो । विहेअघि कबोल गरेको दाइजो दिन नसकेका कारण आफ्नी छोरी र नातिनीको हत्या गरेको मृतकका बाबु विजयशंकर साहले बताए ।
मोटरसाइकल, पलंग, भैंसी, सिक्री माइतीबाट लिएर आइज भन्दै ज्वाईले छोरीमाथि दवाव दिँदै आएको र आफुले दिन नसकेका कारण नातिनीसहित छोरीलाई कुटीकुटी मारेको साहको भनाइ छ ।
ज्वाई धिरेन्द्रको परिवारले शुक्रबार राति १२ बजेको समयमा छोरीलाई निर्ममतापूर्वक कुटपिट गरी हत्या गरेपछि भर्याङमा झुण्डयाइएको र १८ महिने नानीलाई घरको पंखामा झुण्डयाएर मारेको उनले बताए ।
मृतक बुवा विजयशंकरका अनुसार विहान ३ बजेको समयमा छिमेकीले फोन गरेर छोरीलाई ज्वाइका परिवारले कुटेर हत्या गरेको खबर दिएको साहको भनाइ रहेको छ ।
आफुले त्यसपछि प्रहरीलाई खबर गरेर मौलापुर पुगेको साहले बताए । जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी विरबहादुर बुढा मगरले घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको तथा मृतकको श्रीमान र ससुराको खोजी कार्य जारी रहेको बताए ।
श्रीमती र छोरीको हत्या पछि धिरेन्द्र साह र उनको परिवारका सदस्य फरार रहेका छन् ।
