पोखरा । अर्थमन्त्री डा. प्रकाशशरण महतले हाल प्रस्ताव गरिएको बजेटले अर्थतन्त्रलाई चलायमान गर्ने र देशभित्रै उद्योग व्यवसाय गर्ने प्रेरित गरेको बताए ।
शनिबार बिहान प्रेस युनियन कास्कीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री डा. महतले भने, ‘यो बजेटको लक्ष्य लोकप्रिय छ, यसले जे काम गर्न प्रस्ताव अगाडि सारेको छ, त्यसले लोकप्रिय परिणाम दिनेछ । त्यसका लागि बाटो तय भएको छ ।’
उनले थप भने, ‘हाम्रो सिस्टमभित्र अनुशासनको कमी, समयमा निर्णय नहुने, कार्यान्वयन नहुने, समयमा ठेक्का नलाग्ने, कार्यविधि नबन्ने, जथाभावी रकमान्तर हुने कार्यलाई हामीले पूर्णरुपमा निषेध गरेका छौं ।’
उनले अर्थतन्त्रमा सुधार आइरहेकाे जिकिरपन गरे । ‘यसका बाबजुद अर्थतन्त्रमा सुधारको संकेत देखिएका छन् । वैदेशिक मुद्रा सञ्चिती पर्याप्त छ । पर्यटन व्यवसाय फस्टाउँदै गएको छ । यसले अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पुग्छ । बैंकको ब्याजदरमा पनि कमी हुन थालेको छ । अझ निर्णायक पहल राष्ट्र बैंकले गर्छ भन्ने मलाई विश्वास छ’, मन्त्री डा. महतले भने ।
‘बजेट निर्माणमा धेरै चुनौति थिए, राजस्व अनुमानभन्दा धेरै कम उठेको थियो । वैदेशिक ऋणको ब्याज तिर्ने दायित्व बढ्दै गएको छ । अर्को वर्ष अझ बढ्छ । पूँजीगत खर्च धेरै विनियोजन गर्न सक्ने अवस्था थिएन । साउ ब्याज तिर्ने दायित्व र सामाजिक खर्च घटाउन नसक्ने अवस्था थियो ।’
बजेट कार्यान्वयनमा चुनाैति रहेकाे बताउँदै अर्थमन्त्री महतले बजेट कार्यान्वयनमा सुधार आवश्यक रहेकाे बताए । ‘नेपालमा पूँजीगत खर्च नहुने अर्को ठूलो समस्या आजको वास्तविकता हो । अब यो बजेटले दोस्रो चरणको सुधार थाल्नुपर्छ । बजेट प्रकृयामा व्यापक सुधार ल्याउने, निश्चित समयभित्र ठेक्का लागिसक्नुपर्नेलगायतका कुराहरु हामीले बजेटमा उल्लेख गरेका छौं’, मन्त्री डा. महतले भने ।
‘यसैका आधारमा हामीले पूँजीगत खर्च बढाउन र साधारण खर्चलाई बढ्न नदिने, करको दायरालाई बैज्ञानिक बनाउने, भ्याटले हाम्रो राजस्वको दायरा बढिरहेको थियो । पछिल्लो समय एकपछि अर्को मूल्य अभिवृद्धि कर हटाउँदै जाँदा पनि समस्या आयो । हामीले पुनः प्रवेश गराएका छौं ।’
