काठमाडौं । सुशासन, पारदर्शिता, जवाफदेहिता र राज्यका निकायलाई उत्तरदायी बनाउन माग गर्दै जेनजी अभियन्ताहरूले भोलि (शुक्रबार) काठमाडौंमा मार्चपास आयोजना गर्ने भएका छन् ।
‘हराएको कानुनी राज्यको खोजी’ नाम दिइएको उक्त मार्चपास दिउँसो ३ बजे माइतीघर मण्डलाबाट सुरु भई ज्वागलसम्म पुग्ने कार्यक्रम रहेको छ ।
जेनजी अभियन्ता जस्मिन ओझाले सामाजिक सञ्जालमार्फत न्यायप्रेमी नागरिकहरूलाई मार्चपासमा सहभागी हुन अपिल गरेकी छन् ।
उनले सुशासन, पारदर्शिता, जवाफदेहिता र उत्तरदायित्व सुनिश्चित गर्न नागरिकस्तरबाट आवाज उठाउनुपर्ने भन्दै कार्यक्रममा सहभागी हुन सबैलाई आग्रह गरेकी छन् ।
‘हराएको कानुनी राज्यको खोजी’ नारासहित आयोजना हुन लागेको यस कार्यक्रमलाई बृहत् आन्दोलनका रूपमा अघि बढाउने आयोजक पक्षको तयारी छ ।

