काठमाडौं । पछिल्लो राजनीतिक परिवर्तनसँगै नयाँ पुस्ताका केही अनुहार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वृत्तमा चर्चामा आउन थालेका छन् । त्यसमध्ये एक हुन् जेनजी नेतृ एवं महिला अधिकारकर्मी जस्मिन ओझा ।
कानुनी विषयमा दखल राख्ने, स्पष्ट विचार राख्ने र अन्यायविरुद्ध निर्भीक रूपमा आवाज उठाउने ओझा पछिल्लो समय जेनजी पुस्ताको सशक्त प्रतिनिधिका रूपमा देखिएकी छन् ।
पुराना राजनीतिक दलहरूको कार्यशैलीदेखि वर्तमान सरकारका निर्णय र गतिविधिसम्म उनले संवैधानिक तथा कानुनी प्रश्न उठाउँदै आएकी छन् । सत्ता जुनसुकै पक्षको भए पनि अन्याय, अत्याचार र गैरसंवैधानिक गतिविधिविरुद्ध आवाज उठाउनुपर्ने उनको अडान रहँदै आएको छ ।
जेनजी आन्दोलनका क्रममा पनि ओझा अग्रभागमा रहेर आन्दोलनको नेतृत्व र पैरवी गर्ने युवा नेतृमध्ये एकका रूपमा सक्रिय थिइन् । महिला अधिकार, सामाजिक न्याय, कानुनी शासन र नागरिकका आवाजलाई प्राथमिकता दिँदै आएकी उनी आन्दोलनपछि पनि सार्वजनिक बहसमा सक्रिय छिन् ।
यसैबीच, ओझाले बुधबार नेपालका लागि भारतीय पूर्वराजदूत रणजित रायसँग काठमाडौंको लैनचौरस्थित एम्बेस्डर होटलमा भेट गरेकी छन् । केही दिनअघि काठमाडौं आएका रायसँग यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले पनि भेट गरेका थिए ।
रायसँग ओझाको भेटको विषयवस्तु सार्वजनिक भइसकेको छैन । तर, जेनजी आन्दोलनपछि नयाँ पुस्ताका राजनीतिक तथा सामाजिक अगुवाहरूको भूमिका र उनीहरूसँग विदेशी कूटनीतिक वृत्तले राख्ने संवादप्रति चासो बढिरहेका बेला यो भेटले पनि ध्यान आकर्षित गरेको छ ।
आफ्ना विचार स्पष्ट राख्ने र सत्तापक्ष वा प्रतिपक्षको दबाबभन्दा मुद्दालाई प्राथमिकता दिने नेतृका रूपमा ओझाले बनाएको सार्वजनिक छविले उनलाई नयाँ पुस्ताको बहसमा अलग पहिचान दिएको छ ।

