काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) मनोज केसीले आफू, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई थुनिदिने अभिव्यक्ति दिएको दाबी गरेका छन् ।
बुधबार काठमाडौंमा आयोजित पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले आईजीपी केसीको भनाइप्रति प्रश्न उठाएका हुन् । उनले आईजीपीजस्तो जिम्मेवार पदमा रहेका व्यक्तिले राजनीतिक नेतृत्वलाई थुनिदिने अभिव्यक्ति दिनु गैरजिम्मेवार भएको टिप्पणी गरे ।
‘आईजीपी हुनेबित्तिकै होसमा हो कि बेहोसमा हो बोलेको सुन्छु म । आईजीपीको बोली त्यस्तो हुन्छ ? म केपी ओलीलाई थुनिदिन्छु, शेरबहादुरलाई थुनिदिन्छु, प्रचण्डलाई थुनिदिन्छु । केपी ओली, प्रचण्ड, शेरबहादुर देउवा भनेका मजाकका पात्र हुन् ?’ ओलीले भने ।
आफूहरू राणा शासन, पञ्चायती व्यवस्था र निरंकुश राजतन्त्रविरुद्ध संघर्ष गरेर आएको उल्लेख गर्दै ओलीले प्रहरी प्रशासनबाट यस्तो अभिव्यक्ति आउनु मजाक नभएको बताए ।
‘हामी राणा शासनका विरुद्ध लडेर आएका हौं, पञ्चायती शासनका विरुद्ध लडेर आएका हौं, निरंकुश राजतन्त्रका विरुद्ध लडेर आएका हौं । अनि ६ महिने जागिर खाने एउटा सिपाहीले फलानालाई थुनिदिन्छु भन्छ । ठट्टा मजाक गरेको हो ?’ उनले प्रश्न गरे ।
प्रमाण भेटिए आफूहरूलाई पक्राउ गरेर थुन्न चुनौती दिँदै ओलीले आफूहरूलाई मजाकको पात्र नबनाउन चेतावनीसमेत दिए । ‘थुने हुन्छ नि समातेर । जो आउँछ थुनिदिन्छु, क्या हो यो ? हामी मजाकका पात्र हौं ? प्रमाण भेटे अरे, प्रमाण भेटे उनी पनि थुनिन्छन् होला नि, अरू पनि थुनिन्छन् होला नि,’ उनले भने ।
ओलीले गृहमन्त्री सुधन गुरुङको अभिव्यक्तिप्रति पनि प्रश्न उठाए । गृहमन्त्रीले फाइल खुल्दै गरेको र सबै थुनिने बताएको उल्लेख गर्दै उनले कसलाई लक्षित गरेर यस्तो भनिएको हो भन्ने प्रश्न गरे ।
‘गृहमन्त्रीले फाइल खोल्दै छु, पर्खनुस्, सबै थुनिन्छ । एकसेएक थुनिन्छ । कसलाई भनेको हो ? सबै थुनिन्छन् भने उनी र को-को बाँच्छन् त नेपालमा ?’ ओलीले भने ।
यस्ता अभिव्यक्तिले समाजमा त्रासको वातावरण सिर्जना गर्ने भन्दै उनले जिम्मेवार पदमा बसेकाहरूले आतंकको वातावरण बनाउने खालका अभिव्यक्ति दिन नहुने टिप्पणी गरे ।

