काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप सुवेदीले नेपालको पुँजीबजार सुधार र विकासका लागि सबै सरोकारवालासँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।
स्टक ब्रोकर एसोसिएसन अफ नेपालको प्रतिनिधिमण्डलसँगको भेटमा सीईओ सुवेदीले पुँजीबजारलाई थप व्यवस्थित, पारदर्शी र लगानीकर्तामैत्री बनाउन नेप्से सहकार्यका लागि तयार रहेको बताएका हुन्।
एसोसिएसनका अध्यक्ष सागर ढकालसहितको टोलीले सुवेदीलाई भेट गरी अर्थ मन्त्रालयले अघि सारेको पुँजीबजार सुदृढीकरण तथा पुनरुत्थानसम्बन्धी २१ बुँदे कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरेको थियो। टोलीले उनलाई बधाई दिँदै सफल कार्यकालको शुभकामनासमेत दिएको थियो।
भेटमा अध्यक्ष ढकालले २१ बुँदे कार्ययोजना समयमै कार्यान्वयन गर्न सके पुँजीबजारमा देखिएका विद्यमान समस्या समाधान हुनुका साथै लगानीकर्ताको विश्वास बढाउन सहयोग पुग्ने बताए।
बजारको दिगो विकासका लागि नियामक निकाय, नेप्से, ब्रोकर कम्पनी र अन्य सरोकारवालाबीच प्रभावकारी समन्वय आवश्यक रहेको उनको भनाइ थियो।
जवाफमा सीईओ सुवेदीले पुँजीबजार सुधारका लागि कुनै एक निकायको प्रयास मात्र पर्याप्त नहुने भन्दै सबै पक्षको साझा पहल आवश्यक रहेको बताए। उनले अर्थ मन्त्रालयको २१ बुँदे कार्ययोजना कार्यान्वयनका लागि आवश्यक पहल अघि बढाउने प्रतिबद्धता पनि जनाए।
सुवेदीले नेप्सेको संस्थागत सुशासन सुधार, प्राविधिक पूर्वाधारको स्तरोन्नति र लगानीकर्ताको हित संरक्षणलाई प्राथमिकतामा राखेका छन्। त्यस्तै, इन्ट्राडे कारोबार, सर्ट सेलिङ तथा साना तथा मझौला उद्यम (एसएमई) का लागि छुट्टै कारोबार प्लेटफर्म विकास गर्ने सम्भावनाबारे अध्ययन गर्ने योजना पनि अघि सारेका छन्।
नेप्सेको नयाँ नेतृत्वले सुधारका विषयमा प्रतिबद्धता जनाए पनि त्यसको कार्यान्वयन नै मुख्य चुनौती देखिन्छ। विशेषगरी लामो समयदेखि उठ्दै आएका बजार सुधारका मुद्दा, प्रविधिगत समस्या र लगानीकर्ताको विश्वास पुनःस्थापित गर्ने विषयमा नेप्सेले कस्तो गति लिन्छ भन्ने चासो छ।
ब्रोकर एसोसिएसनले पनि पुँजीबजारलाई थप व्यवस्थित र लगानीकर्तामैत्री बनाउन नेप्सेसँग रचनात्मक सहकार्य गर्ने जनाएको छ।

