काठमाडौं । प्रभु बैंकले चिफ बिजनेस अफिसर (सीबीओ) रश्मी पन्तसहित चार कर्मचारीमाथि कारबाही गरेको छ। बैंकले पन्त र सुगेन शाक्यलाई सेवाबाट बर्खास्त गरेको छ भने अन्य दुई कर्मचारीको पद घटुवा र बढुवा रोक्ने निर्णय गरेको छ।
बैंकले आवश्यक कानुनी कागजात र सुरक्षा व्यवस्था पूरा नगरी एमएस एसियन भिलेज रिसोर्ट प्रालिलाई कर्जा प्रवाह गरेको विषयमा पन्तमाथि कारबाही गरेको हो। उनलाई गत कात्तिक २० गतेदेखि लागू हुने गरी सेवाबाट बर्खास्त गरिएको बैंकले जनाएको छ।
त्यस्तै, प्रभु ग्रुप इन्कको रेमिट्यान्स कारोबारका क्रममा पेस गरिएको स्ट्यान्डबाई लेटर अफ क्रेडिट तथा वित्तीय जमानत स्वीकार गर्दा बैंकिङ नियम पालना नगरेको आरोपमा सुगेन शाक्य पनि बर्खास्तमा परेका छन्। उक्त कार्यले बैंकलाई ठूलो वित्तीय जोखिम र कानुनी दायित्वमा पार्न सक्ने देखिएपछि उनलाई समेत कात्तिक २० गतेदेखि लागू हुने गरी सेवाबाट हटाइएको हो।
बैंकले अर्का कर्मचारी सुदिप श्रेष्ठको पद एक तह घटुवा गरेको छ। सामूहिक सौदाबाजी सम्झौताको नतिजाप्रति असन्तुष्टि जनाउँदै कर्मचारीहरूको ठूलो समूहलाई अनधिकृत रूपमा इमेल पठाएको भन्दै उनलाई सहायकबाट जुनियर सहायक पदमा झारिएको हो।
त्यस्तै, कार्यविधि पालना नगरी कार्यगत कमजोरी देखाएको भन्दै मधुसूदन न्यौपानेको दुई वर्षका लागि बढुवा रोकिएको बैंक स्रोतले जनाएको छ।
यसरी बैंकले एकैपटक चार कर्मचारीमाथि कारबाही गरेपछि संस्थाभित्रको अनुशासन, कर्जा प्रवाह प्रक्रिया र आन्तरिक नियन्त्रण प्रणालीसमेत चर्चामा आएको छ।
विशेषगरी उच्च व्यवस्थापकीय जिम्मेवारीमा रहेका सीबीओ नै बर्खास्तमा पर्नुले बैंकको कर्जा स्वीकृति तथा जोखिम व्यवस्थापन प्रक्रियामाथि चासो बढाएको छ।

