काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आफूलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर गरेको रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा परेको छ।
कार्कीको रिटमाथि आजका लागि पेसी तोकिएको हो। उनले आफूलाई आईजीपी पदबाट हटाउने मन्त्रिपरिषद्को निर्णय गैरकानुनी भएको जिकिर गर्दै गत २० कात्तिकमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
सरकारको निर्णय बदर गर्न मागसहित दायर रिटमा सर्वोच्चले तिहार बिदापछि ३० कात्तिकमा सुनुवाइको मिति तोकेको थियो। तर, उक्त दिन छठ पर्वको सार्वजनिक बिदा परेपछि सुनुवाइ हुन सकेको थिएन।
सरकारले गत १८ कात्तिकमा कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो। सोही दिन उनका ब्याची एआईजी डा. मनोजकुमार केसीलाई नयाँ आईजीपी नियुक्त गरिएको थियो।

