काठमाडौं । नेपालमा चीन र तिब्बतसँग जोडिएका गतिविधि एकै समयमा तीव्र बनेका छन्। निर्वासित तिब्बती संसद्का तीन सदस्य नेपाल भ्रमणमा आउन लागेका बेला सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसददेखि युवासम्मका टोली चीन पुगेका छन्।
फरक उद्देश्य र पृष्ठभूमिका यी भ्रमण एकै समयमा हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
मंसिर ३ गते अर्थात् बिहीबार निर्वासित तिब्बती संसद्का तीन सदस्य नेपाल आउने कार्यक्रम रहेको स्रोतले जनाएको छ। उनीहरूको भ्रमणको मुख्य उद्देश्य राजनीतिक भेटवार्ता र तिब्बती शरणार्थी शिविरको अवलोकन रहेको बताइएको छ।
नेपाल भ्रमणका क्रममा उनीहरूले काठमाडौंको बौद्ध–जोरपाटीस्थित छोयोजोर तिब्बती शरणार्थी शिविरको भ्रमण गर्ने कार्यक्रम छ। उक्त शिविरमा करिब ६ हजारभन्दा बढी तिब्बती शरणार्थी बसोबास गर्दै आएका छन्।
त्यस्तै, उनीहरूले मुक्तिनाथ, मुस्ताङ र दक्षिणकालीस्थित गुम्बाहरूको समेत भ्रमण गर्ने तालिका रहेको स्रोतको भनाइ छ।
तिब्बती संसद्का सदस्यहरूको भ्रमणलाई धार्मिक तथा सांस्कृतिक गतिविधिमा मात्रै सीमित गरेर हेर्न सकिने अवस्था छैन।
राजनीतिक भेटवार्ता र शरणार्थी शिविरको अवलोकनसमेत भ्रमणको कार्यसूचीमा रहनुले यसलाई थप चासोका साथ हेरिएको छ। विशेषगरी नेपालमा तिब्बती शरणार्थीको उपस्थिति र चीनको तिब्बतसम्बन्धी संवेदनशीलतालाई जोडेर यो भ्रमणलाई अर्थपूर्ण मानिएको छ।
उता, सत्तारुढ रास्वपाका २० सांसद चीन भ्रमणमा छन्। चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा पार्टीका महामन्त्री बिपिनकुमार आचार्यको नेतृत्वमा सांसदहरूको टोली चीन गएको हो। भ्रमणका क्रममा चिनियाँ विकास मोडल, सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह र राजनीतिक सहकार्यका विषयमा छलफल हुने बताइएको छ।
चीन भ्रमणमा जानुअघि प्रधानमन्त्री बालेन्द्र शाह र पार्टी सभापति रवि लामिछानेले सांसदहरूलाई आवश्यक निर्देशन दिएका थिए। प्रधानमन्त्रीले नेपाल–चीन सम्बन्ध, चिनियाँ लगानी र विकास परियोजनाका विषयमा छलफल गर्न सुझाव दिएका थिए।
यसैबीच, चिनियाँ दूतावाससँग सम्बन्धित ‘चाइनिज एम्बेसी युथ पायोनियर प्रोग्राम’ (CNYP) अन्तर्गत २० जना नेपाली युवा पनि चीन पुगेका छन्। मंगलबार दिउँसो १२ः३० बजे चाइना साउदर्न एयरलाइन्सको उडानमार्फत उनीहरू चीन प्रस्थान गरेका हुन्।
युवा तहमा चीनसँगको सम्पर्क विस्तार गर्ने उद्देश्यसहित सञ्चालित कार्यक्रममार्फत उनीहरूलाई चीन भ्रमण गराइएको हो।
यसरी एकातिर निर्वासित तिब्बती संसद्का प्रतिनिधिहरू नेपाल आउन लागेका छन् भने अर्कोतिर राजनीतिक दलका सांसद र युवाहरू चीन भ्रमणमा छन्। तीनवटै गतिविधिका उद्देश्य फरक भए पनि समय एउटै हुनु आफैँमा चासोको विषय बनेको छ।
नेपाल भौगोलिक र रणनीतिक रूपमा चीन तथा भारतबीच अवस्थित छ। त्यसमा पनि तिब्बतसँग जोडिएको विषय नेपालको कूटनीतिक संवेदनशीलतासँग प्रत्यक्ष सम्बन्धित छ।
नेपालले लामो समयदेखि एक चीन नीतिप्रति प्रतिबद्धता जनाउँदै आफ्नो भूमिमा चीनविरोधी गतिविधि हुन नदिने नीति अवलम्बन गर्दै आएको छ।
यस्तो अवस्थामा निर्वासित तिब्बती राजनीतिक प्रतिनिधिहरूको नेपाल भ्रमण र नेपाली राजनीतिक तथा युवा समूहहरूको चीन भ्रमणलाई सामान्य आवतजावतका रूपमा मात्रै हेर्ने कि यसले कुनै फराकिलो राजनीतिक तथा कूटनीतिक सन्देश बोकेको छ भन्ने प्रश्न उठेको छ।
एकै समय भइरहेका गतिविधिले नेपालमा चीन र तिब्बतसँग जोडिएको भूराजनीतिक चासोलाई पुनः सतहमा ल्याएको छ।

