काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गरेर प्रेस स्वतन्त्रता कुण्ठित गर्न खोजिएको भन्दै सरकारको आलोचना गरेका छन् ।
शनिबार प्रेस वक्तव्य जारी गर्दै उनले पत्रकारलाई पक्राउ गरेर समाचारको सत्य दबाउन नसकिने बताएका हुन् । बालेन नेतृत्वको सरकारको कार्यशैलीले प्रेस स्वतन्त्रता र कानुनी राज्यको अवधारणामाथि प्रहार गरेको उनको आरोप छ ।
‘पत्रकारलाई पक्राउ गरेर न त समाचारको सत्य मार्न सकिन्छ, न त प्रेसलाई कुनै निरंकुशताका सामु घुँडा टेकाउन नै,’ आङ्देम्बेले वक्तव्यमा भनेका छन् ।
पछिल्लो समय समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्ने, सञ्चारमाध्यमका कार्यालयमा प्रहरी परिचालन गर्ने र समाचार कक्षमै प्रहरी प्रवेश गराएर पत्रकारलाई त्रसित बनाउने गतिविधि भइरहेको भन्दै उनले आपत्ति जनाएका छन् ।
अदालतमा विचौलियामार्फत सेटिङ भएको प्रकरणमा प्रधानमन्त्री, प्रधानन्यायाधीश, न्यायाधीश तथा सत्तापक्षीय सांसदको नाम जोडिएका समाचार सार्वजनिक भइरहेका बेला पत्रकारमाथि धरपकड हुनु गम्भीर विषय भएको उनको भनाइ छ ।
पक्राउ पुर्जीबिनै पत्रकारलाई नियन्त्रणमा लिने र कतिपयलाई साइबर ब्युरोमा बोलाउने घटनाले समाचार लेख्ने स्वतन्त्रता संकुचित हुँदै गएको उनले उल्लेख गरेका छन् ।
सरकारका कमजोरी औंल्याउने पत्रकारलाई पक्राउ गर्ने प्रवृत्तिले सरकार आफूलाई जनताका प्रश्नभन्दा माथि राख्न खोजेको सन्देश दिएको आङ्देम्बेको टिप्पणी छ ।
प्रधानमन्त्रीको सचिवालय बेखबर, गृह प्रशासन अनभिज्ञ र प्रहरी प्रवक्ता स्वयं घटनाबारे बुझ्दै गरेको बताइरहेका बेला पक्राउ परेका पत्रकारले भने प्रधानमन्त्री कार्यालयकै दबाबमा आफूलाई पक्राउ गरिएको प्रहरी अधिकारीले बताएको दाबी गरेको उनले वक्तव्यमा उल्लेख गरेका छन् ।‘
प्रधानमन्त्रीको निर्देशन र सरकारका प्रत्येक कार्य कानुनसम्मत हुनुपर्छ,’ आङ्देम्बेले भनेका छन्, ‘कानुनी राज्यको पालना र सम्मान गर्नु प्रधानमन्त्रीको समेत कर्तव्य हो ।’
आङ्देम्बेले राज्यका निकायलाई कानुनअनुसार काम गर्न र स्थापित छानबिन निकायलाई स्वतन्त्र रूपमा काम गर्ने वातावरण बनाउन आग्रह गरेका छन् ।
दशकौंको संघर्षबाट प्राप्त वाक् तथा प्रकाशन स्वतन्त्रता र कानुनी राज्यको सर्वोच्चतालाई कमजोर बनाउने गतिविधि स्वीकार्य नहुने उनको भनाइ छ ।

