काठमाडौं । अहिले सामाजिक सञ्जालमा नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) डम्बरबहादुर विकको चर्चा छ। उनका तस्बिर र भिडियोहरू फेसबुकदेखि टिकटकसम्म देखिन्छन्।
एउटा अन्तर्वार्तामा उनले सुनाएको जीवनको संघर्ष र बाल्यकालका भोगाइले धेरैको ध्यान खिचेको छ। उनको सरल प्रस्तुति, सहज बोल्ने शैली र जीवनका तीता अनुभव सुनाउँदाको भावुकताले धेरैलाई छोएको छ।
तर, अहिले धेरैले चासोका साथ हेरिरहेका यी प्रहरी अधिकृतको जीवनको कथा कुनै चलचित्रको पटकथाभन्दा कम छैन।
दाङको एउटा विकट गाउँ। गरिब परिवार। खाली खुट्टा चकटी बोकेर विद्यालय जाने एउटा बालक। सानै उमेरमा बुबा र आमा दुवै गुमाउनुपरेको पीडा। पढ्ने उमेरमा जीवन धान्ने चिन्ता। जातीय विभेदको सामना। यी सबै परिस्थितिबीच हुर्किएको त्यही बालक एक दिन नेपाल प्रहरीको उच्च नेतृत्व तहसम्म पुग्छ भन्ने कुरा त्यतिबेला सायद कसैले कल्पना गरेको थिएन।
ती बालक हुन्, डम्बरबहादुर विक।
दाङको घोराहीस्थित धर्ना गाउँमा जन्मिएका डम्बरको बाल्यकाल अभावमै बित्यो। उनी पाँच–छ कक्षामा पढ्दै गर्दा बुबाको निधन भयो। त्यसको एक वर्षपछि आमाले पनि संसार छाडिन्। चिसो पुसको एक बिहान सँगै सुतेकी आमा फेरि कहिल्यै नउठ्ने गरी निदाइन्।
सानै उमेरमा आमाबुबाको माया गुमाएका उनलाई गाउँलेले आमाको अन्तिम यात्रामा जन्ती गएको भनेर सम्झाएका थिए। बाल्यकालमै टुहुरो बनेका डम्बरका लागि त्यसपछि जीवन झन् कठिन बन्यो।
तर, आमाले छाडेर गएको एउटा सपना भने उनको जीवनको सहारा बन्यो।
निधन हुनुभन्दा करिब एक साताअघि आमाले जमिनमुनि खाल्डो खनेर केही पुराना चाँदीका सिक्का देखाएकी थिइन्। उनले छोरालाई भनेकी थिइन्, ‘बाबु, म मरिहालेँ भने पनि यो निकालेर पढ्नू, कापी–कलम किन्नू।’
आमाको त्यो अन्तिम भनाइ डम्बरले कहिल्यै बिर्सेनन्। पछि त्यही चाँदीका सिक्का बेचेर आएको करिब आठ हजार रुपैयाँले उनको पढाइलाई निरन्तरता दिने बाटो खोल्यो।
बुबाआमा गुमाएपछि उनका लागि सहारा बने जेठा दाजु खड्गबहादुर सुनार। दाजु आफैँ पढेलेखेका थिएनन्। तर भाइलाई पढाएर ठूलो मान्छे बनाउने सपना थियो। घोराही बजारमा सानो सुन पसल चलाउने दाजुले भाइलाई बजार ल्याए र उनको पढाइका लागि आवश्यक व्यवस्था मिलाउन थाले।
दिदीबहिनीहरूले पनि कुखुरा बेचेर, आफ्ना रहर कटाएर र सारीको फेरोमा गाँठो पारेर जोगाएको पैसा भाइको पढाइमा खर्चिए। परिवारका सदस्यले आफ्नो गाँस काटेर उनको भविष्यका लागि लगानी गरे।
डम्बरको संघर्ष आर्थिक अभावमा मात्रै सीमित थिएन। दलित समुदायमा जन्मिएका कारण उनले सानैदेखि जातीय विभेदको सामना गर्नुपर्यो।
विद्यालय पुग्न घण्टौँ हिँड्नुपर्थ्यो। बस्नका लागि घरबाटै चकटी बोकेर लैजानुपर्थ्यो। सरस्वती पूजाजस्ता सांस्कृतिक कार्यक्रममा समेत उनीहरूका लागि छुट्टै बेन्चको व्यवस्था गरिन्थ्यो।
विभेदको त्यो दृश्यले गाउँका कतिपय आफन्तलाई आक्रोशित बनाउँथ्यो। उनीहरू प्रतिकार गर्ने कुरा गर्थे। तर डम्बरले फरक बाटो रोजे। उनको बुझाइ थियो, क्षणिक आक्रोशले समस्याको समाधान हुँदैन। बरु त्यसले पढाइबाटै वञ्चित गराउन सक्छ।
समाजलाई जवाफ दिनु छ भने पढेर, सक्षम भएर र सफल भएर देखाउनुपर्छ भन्ने सोच उनले बनाए। विभेदविरुद्ध उनको त्यो मौन संकल्प नै जीवनको ठूलो शक्ति बन्यो।
२०४४ सालमा एसएलसी उत्तीर्ण गरेपछि उनी उच्च शिक्षाका लागि काठमाडौं आए। सपनाको सहर काठमाडौंमा पनि उनको संघर्ष रोकिएन। पढ्ने ठाउँ थियो, तर बस्ने कोठा पाउन सहज थिएन। जात थाहा पाएपछि डेराबाट निकालिनुपरेका अपमानजनक अनुभवसमेत उनले भोगे।
तर, उनी रोकिएनन्।
शंकरदेव क्याम्पसमा अध्ययन गर्दा क्याम्पस जीवनका आफ्नै अनुभव समेटेर अंग्रेजीमा लेखेको ‘द क्याम्पस लाइफ’ शीर्षकको निबन्धले उनलाई विकास क्षेत्रको परीक्षामा सफल हुन सहयोग गर्यो।
२०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागमा अधिकृतका रूपमा सेवा प्रवेश गरेका डम्बर २०५८ सालमा नेपाल प्रहरीमा स्थानान्तरण भए। प्रहरी निरीक्षकका रूपमा सुरु भएको उनको यात्रा क्रमशः अघि बढ्दै गयो।
सशस्त्र द्वन्द्वको कठिन समय होस् वा सुर्खेतको धुलियाबिट आक्रमणजस्ता चुनौतीपूर्ण घटना, उनले प्रहरी सेवामा रहेर जोखिमपूर्ण जिम्मेवारी निर्वाह गरे। मृत्यु नजिकबाट देखेका ती दिनहरू पार गर्दै उनी संगठनको उच्च तहसम्म पुगे।
यो यात्रामा उनको परिवारको साथ पनि उत्तिकै महत्वपूर्ण रह्यो।
प्रहरी सेवाको सुरुवाती समयमा मासिक चार हजार रुपैयाँ तलब हुँदा परिवार चलाउनसमेत कठिन थियो। त्यस्तो अवस्थामा उनकी श्रीमती वसन्तीदेवी सुनारले अमेरिकाको पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने अवसरसमेत त्यागेर परिवारको जिम्मेवारी सम्हालिन्। उनले ट्युसन पढाएर र कम्प्युटर सिकाएर घरखर्च चलाउन श्रीमान्लाई साथ दिइन्।
आफूले भोगेको अभाव र दुःखले छोराको भविष्य निर्धारण नगरोस् भन्ने चाहना डम्बर र उनकी श्रीमतीको थियो। त्यसैले छोरालाई सुविधाभन्दा बढी संस्कार दिए। मोबाइलमा भन्दा पुस्तकमा रमाउने वातावरण बनाए। आज उनीहरूका छोरा नेपाल सरकारको परराष्ट्र सेवामा अधिकृतका रूपमा कार्यरत छन्।
तीन दशक लामो प्रहरी सेवाको यात्रामा एआईजीसम्म पुगेका डम्बर आफ्नो सफलतालाई व्यक्तिगत उपलब्धिमा मात्रै सीमित गर्न चाहँदैनन्। प्रहरीको बर्दीलाई उनी नागरिकको पीडा, आँसु र न्यायसँग जोडेर हेर्छन्।
‘बर्दीको कुनै जात र धर्म हुँदैन, यसको एउटै धर्म सेवा हो,’ भन्ने उनको भनाइले पनि उनको सोचलाई प्रस्ट पार्छ। राज्य र समाजले आफूलाई दिएको विश्वासलाई इमानदार सेवामार्फत चुक्ता गर्नुपर्ने उनको धारणा छ।
अहिले उनको चर्चा हुनुको कारण पद र ओहोदा मात्रै होइन। एउटा अन्तर्वार्तामा उनले सुनाएको संघर्षको कथाले धेरैलाई आफ्नै जीवनका अभाव र चुनौती सम्झाएको छ। उच्च पदमा पुगेपछि पनि विगतका दुःख नलुकाउने, सहज रूपमा आफ्ना कुरा राख्ने र सरल स्वभावमा प्रस्तुत हुने उनको शैलीले धेरैको ध्यान तानेको छ।
अवकाशको संघारमा रहेका डम्बरको एउटा इच्छा अझै बाँकी छ। आफूले कुनै बेला धुलो टकटकाउँदै पढेको गाउँको प्राथमिक विद्यालयमा एकपटक त्यही प्रहरीको बर्दी लगाएर पुग्ने। त्यहाँका बालबालिकासँग बसेर आफ्नो जीवनको कथा सुनाउने।
सायद उनी त्यहाँ पुगेर भन्न चाहन्छन्- अभावले सपना देख्न रोक्दैन, विभेदले प्रतिभा मार्न सक्दैन र परिस्थितिले बाटो छेके पनि दृढ संकल्प भए गन्तव्यमा पुग्न सकिन्छ।
दाङको एउटा गाउँबाट खाली खुट्टा चकटी बोकेर विद्यालय पुगेको बालक आज नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षकसम्म पुगेको छ। यो केवल डम्बरबहादुर विकको व्यक्तिगत सफलताको कथा होइन, अवसरको खोजीमा संघर्ष गरिरहेका हजारौँ बालबालिकाका लागि आशा जगाउने एउटा जीवनयात्रा पनि हो।

