काठमाडौं । पत्रकार पक्राउको घटनापछि नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सञ्चारकर्मीलाई विशेष सम्बोधन गर्दै सञ्चारकर्ममा कुनै पनि प्रकारको बाधा हुन नदिने प्रतिबद्धता जनाएका छन्।
कार्कीले शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत स्ट्याटस लेख्दै सञ्चारकर्मीबाट निष्पक्ष, तथ्यपूर्ण एवं साहसिक रिपोर्टिङको अपेक्षा गरेको बताएका छन्।
‘यस्तो संवेदनशील समयमा नागरिकलाई सही समयमा सही सूचना सम्प्रेषण गर्दै क्षति न्यूनीकरण गर्न सञ्चारकर्मी साथीहरूको महत्त्वपूर्ण भूमिका रहन्छ,’ उनले लेखेका छन्, ‘नेपाल प्रहरीले सञ्चारकर्मी साथीहरूको निष्पक्ष, तथ्यपूर्ण एवं साहसिक रिपोर्टिङको सदैव अपेक्षा गर्दछ।’
उनले सञ्चारकर्ममा कतै, कुनै पनि प्रकारको बाधा नपरोस् भन्ने कुरामा नेपाल प्रहरी दृढ प्रतिबद्ध रहेको पनि उल्लेख गरेका छन्।
‘सञ्चारकर्ममा कतै, कुनै पनि प्रकारको बाधा नपरोस् भन्ने कुरामा हरसम्भव सहयोग गर्न नेपाल प्रहरी दृढ प्रतिबद्ध छ,’ कार्कीले लेखेका छन्।
पत्रकार पक्राउको घटनालाई लिएर सञ्चार क्षेत्रबाट प्रहरीको कार्यशैलीमाथि प्रश्न उठिरहेका बेला आईजीपी कार्कीको यस्तो सन्देश आएको हो। यद्यपि, उनले स्ट्याटसमा पत्रकार पक्राउ प्रकरणबारे प्रत्यक्ष रूपमा केही उल्लेख गरेका छैनन्।
विपद्को जोखिम न्यूनीकरणलाई मुख्य विषय बनाएर लेखिएको स्ट्याटसमा उनले आम नागरिक, सञ्चारकर्मी र प्रहरीबीच सहकार्यको आवश्यकता औँल्याएका छन्।

