काठमाडौं । समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्न कसले निर्देशन दियो ? सरकारको आदेशमा प्रहरीले पत्रकार पक्राउ गरेको हो वा प्रहरी नेतृत्वकै निर्देशनमा यस्तो कदम चालिएको हो ? अहिले यो प्रश्न गम्भीर रूपमा उठेको छ।
शुक्रबार विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूलाई प्रहरीले पक्राउ गरेपछि घटनाको निर्देशन र जिम्मेवारी कसले लिएको हो भन्ने विषय थप पेचिलो बनेको छ।
पत्रकार पक्राउ गर्ने विषयमा प्रहरीसँग जिज्ञासा राख्दा आफूहरूलाई यसबारे जानकारी नभएको जवाफ आएको छ। यता प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पनि पत्रकार पक्राउ गर्ने विषयमा आफ्नो कुनै भूमिका नरहेको बताएको छ।
यदि सरकारको निर्देशन होइन र प्रहरी नेतृत्वको आदेश पनि होइन भने आखिर पत्रकार पक्राउ गर्न निर्देशन कसले दियो ? प्रहरी परिचालन कसको निर्णयमा भयो ? समाचार कक्षमै पुगेर पत्रकारलाई नियन्त्रणमा लिन कसले अनुमति दियो ?
यी प्रश्नको जवाफ अहिलेसम्म स्पष्ट हुन सकेको छैन।
नेपाल प्रेसमा कार्यरत पत्रकार विश्वमणि सुवेदीलाई समाचार कक्षबाटै प्रहरीले नियन्त्रणमा लिएको छ। त्यस्तै, मोटिभेट न्युजका शोभराज बराल पक्राउ परेका छन् भने नयाँ पत्रिकाका पत्रकार नवराज मैनालीलाई नियन्त्रणमा लिन प्रहरी टोली कार्यालय पुगेको थियो। घटनापछि पत्रकार महासंघले समाचार कक्षबाट पत्रकार पक्राउ गर्ने कार्य तत्काल रोक्न माग गरेको छ।
पत्रकार पक्राउ गर्ने निर्णय कसले गर्यो भन्ने विषयमा सरकार र प्रहरी दुवैको जवाफ अनभिज्ञतामा सीमित हुँदा घटनाको जिम्मेवारी कसले लिने भन्ने प्रश्न झन् पेचिलो बनेको छ।
राज्यको सुरक्षा संयन्त्र परिचालन भएर पत्रकार पक्राउ हुन्छन्, तर त्यसको निर्देशन दिने निकाय नै स्पष्ट हुँदैन भने यो सामान्य प्रश्न होइन। आखिर पत्रकार समात्न उर्दी जारी गर्ने को हो ? सरकारले कि प्रहरी प्रमुखले ? अथवा दुवैको जानकारीबिनै प्रहरी परिचालन भएको हो ?
यसको जवाफ सम्बन्धित निकायले दिनैपर्छ।

