रौतहट । रौतहटमा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक प्रहरी जवानको मृत्यु भएको छ भने उनकी श्रीमती गम्भीर घाइते भएकी छन्।
बिहीबार साँझ करिब ६ः३० बजे फतुवा विजयपुर नगरपालिका–११ स्थित राङ्गी टोलमा दुधिअवा–बालचनपुर सडकखण्डमा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा परी घाइते भएका प्रहरी जवान सुभाष चौधरी र उनकी श्रीमती प्रहरी जवान निशा खड्कालाई तत्काल उपचारका लागि वीरगन्जस्थित बयोधा अस्पताल लगिएको थियो। उपचारकै क्रममा बिहीबार राति ८ः१० बजे चिकित्सकले ३५ वर्षीय चौधरीलाई मृत घोषणा गरेका थिए।
बारा जिल्लाको इलाका प्रहरी कार्यालय सिम्रौनगढमा कार्यरत चौधरीकी ३० वर्षीया श्रीमती निशाको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ।
कर्तव्यमा खटिएका प्रहरी जवान चौधरीको सवारी दुर्घटनामा परी ज्यान गएको घटनाले प्रहरी परिवारमा शोक छाएको छ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

