दाङ। व्यक्तिको नाममा बिक्री भइसकेको जग्गा पुनः आफ्नै नाममा स्रेस्ता कायम गरी बैंकबाट ऋणसमेत लिएको आरोप लागेका दिलीप थापालाई प्रहरीले उपस्थित गराएको छ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी दीपक श्रेष्ठले थापालाई प्रहरीले उपस्थित गराएको जानकारी दिए। बाँके प्रहरीसँगको समन्वयमा दाङ प्रहरीले थापालाई नियन्त्रणमा लिएर मालपोत कार्यालयमा उपस्थित गराउने प्रक्रिया अघि बढाएको छ।
एसपी श्रेष्ठका अनुसार यस विषयमा २०८२ साल असारदेखि २०८३ असोज २९ गतेसम्म सम्बन्धित निकायबीच पटक–पटक पत्राचार भएको थियो। मालपोत कार्यालय घोराहीले थापालाई उपस्थित गराउन जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमार्फत समेत ताकेता गरेको थियो।
घोराही उपमहानगरपालिका–७, सौडियार घर भएका थापा हाल बाँकेको नेपालगञ्जस्थित बसपार्क नजिक विद्युत् कार्यालय आसपास बस्दै आएको बताइएको थियो।
निवेदनअनुसार थापाले २०५५ साल असार ११ गते चन्द्रभानु भट्टराईलाई कित्ता नं. ८४०, ८४२ र ८५५ का जग्गा तथा असार १९ गते शारदा भण्डारीलाई कित्ता नं. ८५२ को जग्गा बिक्री गरेका थिए। तर, बिक्री भइसकेका जग्गा पुनः आफ्नै नाममा स्रेस्ता कायम गरी बैंकबाट ऋणसमेत लिएको आरोप उनीमाथि छ।
जग्गाधनीहरूले दोहोरो स्रेस्ता हटाई आफ्नो नाममा कायम गर्न माग गर्दै सम्बन्धित निकायमा निवेदन दिएका छन्।
लामो समयदेखि पत्राचार र ताकेता हुँदासमेत उपस्थित नभएका थापा अहिले प्रहरीको समन्वयमा मालपोत कार्यालयमा उपस्थित गराउने प्रक्रिया अघि बढेपछि जग्गा स्रेस्ता विवादको छानबिन तथा कारबाही प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।

