काठमाडौं । बिचौलिया भनिएका इनम सापकोटासँग सर्वोच्च अदालतका न्यायाधीशहरूको नाम जोडिएपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले फुलकोर्ट बैठक बोलाएका छन्।
शुक्रबार बिहान ९ बजे बस्ने गरी बोलाइएको बैठकमा समसामयिक विषयमा छलफल हुने जनाइएको छ।
सापकोटासँग सम्बन्धित संवाद तथा सन्देशहरू सार्वजनिक भएपछि सर्वोच्च अदालतका न्यायाधीशहरू विवादमा तानिएका छन्। न्यायाधीश हरि फुयाल र श्रीकान्त पौडेलले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै सापकोटासँग जोडेर लगाइएका आरोप अस्वीकार गरेका छन्।
बिहीबार न्यायाधीश फुयालले पनि सापकोटाको गतिविधिबारे प्रधानमन्त्रीको सचिवालयलाई आफूहरूले नै जानकारी गराएको बताएका थिए।
यसैबीच, नेपाल बार एसोसिएसनले न्यायाधीशमाथि लागेका आरोपबारे निष्पक्ष अनुसन्धान गर्न माग गरेको छ। न्यायपालिकाको निष्पक्षता र विश्वसनीयतामाथि प्रश्न उठिरहेका बेला प्रधानन्यायाधीशले बोलाएको फुलकोर्ट बैठकलाई महत्त्वका साथ हेरिएको छ।

