काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले बिचौलियाको आरोप लागेका इनम सापकोटाको गतिविधिबारे आफूहरूले नै प्रधानमन्त्रीको सचिवालयलाई जानकारी गराएको बताएका छन्।
बिहीबार पत्रकारहरूसँग कुरा गर्दै न्यायाधीश फुयालले सापकोटाले प्रधानमन्त्रीको नाम लिँदै विचाराधीन मुद्दामा चासो राख्ने र न्यायाधीशहरूलाई दबाब दिने प्रयास गरेपछि शंका उत्पन्न भएको बताए। त्यसपछि सापकोटाको तस्बिर, फोन नम्बर र उनीसँग भएका संवादसहितका विवरण प्रधानमन्त्रीको सचिवालयमा बुझाएको उनको भनाइ छ।
फुयालका अनुसार, सापकोटाले विभिन्न उच्चपदस्थ व्यक्तिसँग आफ्नो पहुँच रहेको दाबी गर्दै मुद्दामा प्रभाव पार्न खोजेका थिए। उनीसहित अन्य न्यायाधीशले समेत यसबारे सम्बन्धित निकायलाई जानकारी गराएका थिए। त्यसको केही दिनपछि सापकोटा पक्राउ परेको उनले बताए।
फुयालले सापकोटासँग कुनै आर्थिक लेनदेन वा मुद्दा मिलाउने सेटिङ नभएको दाबी गर्दै घटनाको निष्पक्ष र विस्तृत अनुसन्धान गर्न माग गरेका छन्।

