काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई राजीनामाको दबाब बढेको भन्ने समाचार तथा टिप्पणी सार्वजनिक भइरहेका बेला नेपाल प्रहरीले सरकार र प्रहरी संगठनलाई विवादमा तान्ने प्रयास नगर्न चेतावनी दिएको छ।
आईजीपी कार्कीले बिहीबार आकस्मिक रूपमा बोलाएको प्रहरीको पोलिसी कोअर्डिनेसन कमिटी (पीसीसी) बैठकपछि प्रहरीले प्रेस विज्ञप्ति जारी गर्दै संगठनलाई कमजोर बनाउने र विवादमा तान्ने उद्देश्यले भ्रमपूर्ण सूचना सम्प्रेषण भइरहेको भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
प्रहरी प्रधान कार्यालयले सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा आईजीपी कार्कीमाथि राजीनामाको दबाब बढेको भन्ने आशयका समाचार तथा टिप्पणी प्रकाशित र प्रसारित भइरहेको उल्लेख गर्दै पुष्टि नभएका विषयलाई अनुमानका आधारमा प्रस्तुत नगर्न आग्रह गरेको छ।
यस्ता सामग्रीले नागरिकमा भ्रम तथा नकारात्मकता सिर्जना गर्नुका साथै सुरक्षा जोखिम बढाउन सक्ने र प्रहरी संगठनप्रतिको विश्वासमा असर पार्न सक्ने प्रहरीको भनाइ छ।
प्रहरीले सत्य, तथ्यपरक तथा विश्वसनीय सूचना प्राप्त गर्नु नागरिकको मौलिक अधिकार भएको स्वीकार गर्दै समाचार प्रकाशन तथा प्रसारण गर्नुअघि सम्बन्धित निकायबाट तथ्य पुष्टि गर्न र सूचनाको सत्यता सुनिश्चित गर्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ।
विज्ञप्तिमा प्रहरी संगठन कुनै पनि प्रकारका भ्रामक प्रचार, अनावश्यक दबाब वा गैरकानुनी गतिविधिबाट विचलित नभई आफ्नो संवैधानिक तथा कानुनी जिम्मेवारी निर्वाह गर्न प्रतिबद्ध रहेको उल्लेख छ। साथै, अपुष्ट सामग्रीको अनावश्यक प्रसार नगर्न र जिम्मेवार सूचना सम्प्रेषणमा सहयोग गर्न पनि आग्रह गरिएको छ।
प्रहरीले संगठनको प्रतिष्ठा, व्यावसायिकता तथा कार्यसम्पादनमाथि भ्रम सिर्जना गर्ने उद्देश्यले नियोजित रूपमा भ्रामक सूचना सम्प्रेषण गरी प्रहरीलाई कमजोर बनाउने वा सुरक्षा संगठनलाई विवादमा तान्ने प्रयास हुन सक्ने भन्दै त्यस्ता गतिविधिबारे आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अघि बढाइने जनाएको छ।
पीसीसी बैठकमा प्रहरी प्रधान कार्यालयका एआईजीहरू, सातवटै प्रदेशका प्रहरी प्रमुख रहेका डीआईजीहरू तथा उपत्यकामा कार्यरत एसएसपीहरूको सहभागिता थियो। बैठक करिब चार घण्टापछि सम्पन्न भएको थियो।
आईजीपी कार्कीलाई सरकारले हटाउने तयारी गरेको भन्ने विवरण सार्वजनिक भए पनि त्यसबारे सरकारका तर्फबाट आधिकारिक धारणा सार्वजनिक भएको छैन। प्रहरीले भने पछिल्लो घटनाक्रमका बीच संगठनको व्यावसायिकता र संस्थागत मर्यादामाथि प्रश्न उठाउने भ्रामक प्रचारप्रति आपत्ति जनाउँदै तथ्यमा आधारित सूचना सम्प्रेषण गर्न आग्रह गरेको छ।

