काठमाडौं । नेपाल प्रहरीको संगठनात्मक चेन अफ कमान्ड, शान्तिसुरक्षा व्यवस्थापन र प्रहरीप्रतिको जनविश्वासमा असर पार्ने विषयमा नीतिगत छलफल गर्न प्रहरी प्रधान कार्यालयले उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजीसहित सातै प्रदेशका प्रहरी प्रमुखलाई काठमाडौं बोलाएको छ ।
प्रहरी स्रोतका अनुसार पछिल्लो समय प्रहरी संगठनका कामकारबाही र नेतृत्वलाई लक्षित गरी भइरहेका मिडिया ट्रायलले संगठनको आन्तरिक कमान्ड प्रणालीदेखि शान्तिसुरक्षा व्यवस्थापनसम्म प्रभाव पार्न सक्ने विषय उठेपछि त्यसबारे ठोस नीति तय गर्न प्रहरी प्रमुखहरूलाई हेडक्वार्टर झिकाइएको हो ।
प्रहरी प्रधान कार्यालयले बिहीबार दिउँसो १२ बजेभित्र नक्सालस्थित हेडक्वार्टरमा उपस्थित हुन उनीहरूलाई निर्देशन दिएको स्रोतले जनाएको छ ।
प्रदेश तथा उपत्यकाको सुरक्षा कमान्ड सम्हालिरहेका प्रमुखहरूसँग छलफल गरेपछि प्रहरी महानिरीक्षक (आईजीपी) को अध्यक्षतामा पोलिसी कोअर्डिनेसन कमिटी (पीसीसी) को बैठक बस्ने तयारी छ ।
उक्त बैठकमा प्रहरी प्रधान कार्यालयका अधिकारीसँगै काठमाडौं उपत्यकामा कार्यरत एसएसपी तहसम्मका अधिकृत सहभागी हुने बताइएको छ ।
बैठकमा संगठनको कमान्ड प्रणालीलाई प्रभावकारी बनाउने, शान्तिसुरक्षा व्यवस्थापनमा समन्वय बढाउने तथा प्रहरीको कार्यसम्पादनमा पर्न सक्ने असरबारे छलफल हुने स्रोतको भनाइ छ ।
पछिल्लो समय प्रहरी संगठनका गतिविधि, नेतृत्व र निर्णय प्रक्रियालाई लिएर सार्वजनिक बहस तथा सञ्चारमाध्यममा विभिन्न विषय उठिरहेका छन् ।
यस्तो अवस्थामा तथ्यमा आधारित आलोचना र प्रश्नलाई सम्बोधन गर्दै संगठनको नियमित कामकारबाही प्रभावित हुन नदिन आवश्यक नीतिगत स्पष्टता कायम गर्नुपर्ने विषय प्रहरी नेतृत्वले प्राथमिकतामा राखेको स्रोतले जनाएको छ ।
प्रहरीप्रतिको जनविश्वासमा आँच पुग्ने र नागरिकसँगको सहकार्य कमजोर हुने गरी कुनै पनि प्रकारको हस्तक्षेप वा चलखेल स्वीकार्य नहुने प्रहरी स्रोतको भनाइ छ । नागरिकको सुरक्षा, कानुन कार्यान्वयन र शान्तिसुव्यवस्था कायम गर्ने जिम्मेवारीमा केन्द्रित रहँदै संगठनलाई थप प्रभावकारी बनाउने विषयमा प्रहरी नेतृत्वले सक्रियता बढाएको बताइएको छ ।
सातै प्रदेशका प्रहरी प्रमुख र उपत्यका प्रहरी नेतृत्वलाई एकैपटक हेडक्वार्टर बोलाइनुलाई संगठनात्मक समन्वय, कमान्ड प्रणाली र समसामयिक चुनौतीबारे साझा धारणा बनाउने प्रयासका रूपमा हेरिएको छ ।

