विराटनगर । मोरङ जिल्ला प्रहरी कार्यालयले इलाका प्रहरी कार्यालय सिजुवाका प्रमुख प्रहरी निरीक्षक कैलाश लिम्बूलाई तीनपटक ‘उत्कृष्ट प्रहरी’ घोषणा गरेपछि प्रहरी संगठनभित्रै निष्पक्ष मूल्याङ्कनमाथि प्रश्न उठ्न थालेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङले प्रत्येक महिना कार्यसम्पादन मूल्याङ्कनका आधारमा उत्कृष्ट प्रहरी छनोट गर्ने व्यवस्था छ। सोही क्रममा वैशाख, श्रावण र पछिल्लो महिनाको मूल्याङ्कनमा लिम्बू लगातार तीनपटक उत्कृष्ट घोषित भएका हुन्।
प्रहरीका अनुसार लागुऔषध नियन्त्रण, गाँजा तस्करी रोकथाम, ठूलो परिमाणमा गाँजासहित दुई भारतीय नागरिक पक्राउ तथा शान्ति सुरक्षा कायम गर्न सक्रिय भूमिका निर्वाह गरेको आधारमा लिम्बूलाई उत्कृष्ट घोषणा गरिएको हो।
तर संगठनभित्रका केही प्रहरी कर्मचारीले एउटै व्यक्तिलाई पटक–पटक मात्रै सम्मानित गरिनुले तल्लो दर्जाका प्रहरीको योगदान ओझेलमा परेको गुनासो गरेका छन्। उनीहरूको भनाइमा वास्तविक फिल्ड अपरेसनमा सई, असई, वरिष्ठ हवल्दार र जवानहरू खटिने भए पनि श्रेय भने कार्यालय प्रमुखले मात्रै पाइरहेका छन्।
‘एकपटक उत्कृष्ट हुनु स्वाभाविक हुन सक्छ, तर तीन–तीन पटक एउटै व्यक्तिलाई किन?’ भन्ने प्रश्न संगठनभित्रै उठिरहेको स्रोतको दाबी छ।
यससँगै सिजुवा क्षेत्रलाई आर्थिक गतिविधि बढी हुने संवेदनशील पोस्टिङ मानिने र त्यहाँबाट भन्सार छलेर किराना सामान उदयपुरतर्फ ओसारपसार हुने गरेको आरोपसमेत स्थानीय तहमा बेलाबेला उठ्ने गरेको छ।
यसैबीच केहीले तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङको कार्यकालमा लिम्बूलाई सिजुवा खटाइएको प्रसंग जोड्दै वर्तमान जिल्ला प्रहरी प्रमुख एसपी कवित कटुवालको मूल्याङ्कन प्रक्रियामाथि समेत प्रश्न उठाएका छन्।
लगातार एउटै अधिकृतलाई उत्कृष्ट घोषणा गरिनुले मूल्याङ्कन प्रक्रिया निष्पक्ष थियो कि थिएन भन्ने प्रश्न भने प्रहरी संगठनभित्र थप बहसको विषय बनेको छ।
के मोरङमा लागुऔषध नियन्त्रण र अपराध अनुसन्धानको काम लिम्बूले मात्रै गरेका छन्?
लागुऔषध नियन्त्रण, तस्करी रोकथाम र अपराध अनुसन्धानमा सिजुवाका प्रहरी मात्रै सक्रिय छन् कि जिल्लाका अन्य प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीले पनि उत्तिकै मेहनत गरिरहेका छन्? एउटै व्यक्तिलाई पटक–पटक उत्कृष्ट घोषणा गर्दा अन्य कार्यालयका प्रहरीको योगदान ओझेलमा परेको त छैन? अहिले उठेका मुख्य प्रश्न यिनै हुन्।
अपराध नियन्त्रणका लागि फिल्डमा खटिने प्रहरी जवान, हवल्दार, वरिष्ठ हवल्दार, असई र सईदेखि अनुसन्धानमा संलग्न अन्य कर्मचारीको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। तर उपलब्धि सार्वजनिक गर्दा कार्यालय प्रमुखको नाम मात्रै अगाडि आउने र टोलीमा खटिएका कर्मचारीको योगदान चर्चामा नआउने प्रवृत्तिले तल्लो दर्जाका प्रहरी कर्मचारीमा निराशा बढ्न सक्ने देखिन्छ।
एकपटक उत्कृष्ट घोषित हुनु कार्यसम्पादनको मूल्याङ्कन हुन सक्छ। तर तीन–तीन पटक एउटै अधिकृतलाई उत्कृष्ट घोषणा गर्दा त्यसको आधार, मापदण्ड र अन्य प्रहरी कार्यालयको कार्यसम्पादनसँग गरिएको तुलनाबारे स्पष्टता आवश्यक देखिन्छ।
उत्कृष्ट प्रहरी छनोट गर्दा व्यक्तिगत उपलब्धिसँगै टोलीको योगदान र अन्य कार्यालयका प्रहरीको कार्यसम्पादनलाई पनि समान रूपमा मूल्याङ्कन गरिएको छ कि छैन भन्ने प्रश्न स्वाभाविक रूपमा उठेको छ।
प्रहरी कर्मचारीलाई उत्कृष्ट घोषणा गर्नु सकारात्मक पक्ष भए पनि छनोट प्रक्रिया पारदर्शी र निष्पक्ष हुनुपर्छ। एउटै व्यक्तिलाई पटक–पटक सम्मानित गर्दा अन्य प्रहरी कर्मचारीको योगदानको उचित मूल्याङ्कन भएको छ कि छैन भन्ने विषयमा जिल्ला प्रहरी कार्यालय मोरङले स्पष्ट पार्नु आवश्यक देखिन्छ।
प्रश्न लिम्बू उत्कृष्ट हुनुमा होइन, उत्कृष्ट छनोटको आधार र अरू प्रहरीको योगदानको मूल्याङ्कनमा हो। मोरङका अन्य प्रहरी कार्यालयले गरेका उपलब्धि र कार्यसम्पादनको विवरण पनि सार्वजनिक भएमा उत्कृष्ट प्रहरी छनोटको निष्पक्षताबारे उठेका प्रश्नको जवाफ पाउन सहज हुनेछ।

