काठमाडौं । प्रहरी स्टाफ कलेजको प्रवेश परीक्षामा धेरै अधिकृत अनुत्तीर्ण भएपछि पाठ्यक्रम र परीक्षा प्रणाली परिमार्जनको तयारी गरिएको छ ।
स्टाफ कलेजलाई प्रभावकारी बनाउने उद्देश्यसहित गठित अध्ययन समितिले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई प्रतिवेदन बुझाउँदै प्रवेश परीक्षादेखि कोर्स सञ्चालनसम्म सुधार गर्न सुझाव दिएको छ ।
प्रहरी प्रधान कार्यालयले डीआईजी विश्व अधिकारीको नेतृत्वमा गत भदौ १७ गते समिति गठन गरेको थियो । समितिले स्टाफ कलेजको पाठ्यक्रम, प्रवेश परीक्षा र समग्र अवधारणामा आवश्यक सुधारबारे अध्ययन गरी सुझाव दिएको हो । समितिमा एसएसपी सोमेन्द्रसिंह राठौर, एसपी गजुसिद्धि बज्राचार्य र डीएसपी सुन्दर तिवारीसहित सात जना सदस्य थिए ।
समितिको सुझावअनुसार यस वर्ष सन् २०७० मा प्रहरी निरीक्षकमा भर्ना भएका अधिकृतले मात्रै स्टाफ कलेजको प्रवेश परीक्षा दिन पाउने भएका छन् । यो १५८औँ समूहका अधिकृतका लागि अन्तिम अवसर हुनेछ । उनीहरूले यसअघि दुई पटक प्रवेश परीक्षा दिइसकेका छन् ।
प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार यस वर्ष २०७० मा भर्ना भएका अधिकृतलाई मात्रै परीक्षामा सहभागी गराउने तयारी गरिएको छ ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले प्रवेश परीक्षामा सहभागी हुने ६५ जना डीएसपीको सूचीसमेत सार्वजनिक गरिसकेको छ । उनीहरूको परीक्षा पुसको पहिलो सातादेखि सञ्चालन गर्ने गरी प्रक्रिया अघि बढाइएको छ ।
३५ जनाको कोटा, उत्तीर्ण हुनेको संख्या आधाभन्दा कम
प्रहरी स्टाफ कलेजको एउटा शैक्षिक सत्रमा ३५ जना अधिकृतलाई सहभागी गराउने गरी सरकारले कार्यक्रम स्वीकृत गरेको छ ।
तर, पहिलो ब्याचमा १७ जना र दोस्रो ब्याचमा १५ जना अधिकृतले मात्रै कोर्स पूरा गरेपछि यसको पाठ्यक्रम र प्रवेश परीक्षा प्रणालीमाथि प्रश्न उठ्दै आएको थियो ।
पहिलो ब्याचको प्रवेश परीक्षामा १३१ जना र दोस्रो ब्याचमा ८९ जना अधिकृत प्रतिस्पर्धामा उत्रिएका थिए । प्रतिस्पर्धा धेरै भए पनि अपेक्षित संख्यामा अधिकृत उत्तीर्ण हुन नसकेपछि प्रहरी संगठनभित्र स्टाफ कलेजको परीक्षा प्रणालीबारे असन्तुष्टि बढेको थियो ।
पाठ्यक्रम जटिल भएका कारण प्रवेश परीक्षामै धेरै अधिकृत अनुत्तीर्ण हुनुपरेको प्रहरी कर्मचारीहरूको भनाइ छ । अधिकृतहरूले यसबारे आईजीपी कार्कीसँग समेत गुनासो गरेका थिए ।
अध्ययन समितिले प्रवेश परीक्षा उत्तीर्ण गर्न आवश्यक अंकभारमा समेत परिमार्जन गर्न सुझाव दिएको प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतले बताएका छन् ।
यससँगै प्रत्येक वर्ष निर्धारित ३५ जना अधिकृतलाई स्टाफ कलेजको कोर्स गराउने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा समितिले जोड दिएको छ ।
प्रवेश परीक्षाको ढाँचा पनि फेरिँदै
हालको व्यवस्थाअनुसार प्रवेश परीक्षामा चारवटा विषयमा अनिवार्य रूपमा ५०–५० अंकका दरले कुल २०० अंकको परीक्षा दिनुपर्छ । त्यसबाहेक सिम्याटमा ४० अंक ल्याउनुपर्ने व्यवस्था छ । अध्ययन समितिले प्रवेश परीक्षामा आवश्यक अंकभारसमेत परिमार्जन गर्न सुझाव दिएको छ ।
यसअघि तेस्रो ब्याचका लागि मंसिर १८ गतेदेखि प्रवेश परीक्षा सञ्चालन गर्ने कार्यतालिका सार्वजनिक गरिएको थियो । तर, विपद्को कारण देखाउँदै उक्त परीक्षा स्थगित गरिएको थियो । अहिले भने नयाँ व्यवस्थाअनुसार पुसको पहिलो सातादेखि परीक्षा सञ्चालन गर्ने तयारी गरिएको छ ।
समितिले स्टाफ कलेजको पाठ्यक्रममा सामान्य परिमार्जन गर्नुका साथै यसलाई प्रहरी ऐनमै व्यवस्थित गरेर दीर्घकालीन रूपमा अघि बढाउनसमेत सुझाव दिएको छ ।
स्टाफ कलेज नगरे बढुवाको बाटो बन्द
महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सञ्चालन भइरहेको प्रहरी स्टाफ कलेजको कोर्स १६ महिनाको हुन्छ ।
यसअन्तर्गत मास्टर इन पुलिस साइन्स (एमपीएस) र प्रोफेसनल लिडरसिप कोर्स सञ्चालन हुँदै आएको छ । प्रहरी प्रधान कार्यालयले २०८२ वैशाख २१ गतेदेखि यी कोर्स लागू गरेको थियो ।
स्टाफ कलेजको विषय प्रहरी अधिकृतका लागि शैक्षिक कोर्समा मात्र सीमित छैन । १५८औँ समूहका प्रहरी निरीक्षक तथा त्यसपछि भर्ना भएका अधिकृतको भावी नेतृत्व र बढुवासँग समेत यो जोडिएको छ ।
स्टाफ कलेज पूरा नगरेका अधिकृत डीआईजीमा बढुवा हुन नपाउने व्यवस्थाका कारण पनि यसको प्रवेश परीक्षा र पाठ्यक्रमप्रति प्रहरीभित्र चासो बढेको हो ।
अध्ययन समितिले दिएको सुझाव कार्यान्वयन भएमा प्रवेश परीक्षा प्रणालीमा सुधार आउने र निर्धारित संख्यामा अधिकृतलाई स्टाफ कलेजमा सहभागी गराउने बाटो खुल्ने अपेक्षा गरिएको छ ।
अब प्रहरी प्रधान कार्यालयले समितिको सुझावअनुसार कस्तो व्यवस्था लागू गर्छ भन्ने विषय प्रहरी अधिकृतहरूका लागि चासोको विषय बनेको छ ।

