काठमाडौं । धरानका तत्कालीन मेयर तथा हालका प्रतिनिधिसभा सदस्य हर्क साम्पाङकी जेठी पत्नी दिलमाया राईलाई अंश दिन अदालतले फैसला गरेको छ।
दिलमायाले २०७३ असोज ६ गते दायर गरेको अंशचलन मुद्दामा अदालतले हर्कराज राईसहित पाँच अंशियार कायम गर्दै सम्पत्ति अंशबण्डा गर्नुपर्ने ठहर गरेको हो।
अदालतका अनुसार हर्कराज, उनका दाजुहरू आशय कुमार राई र एकराज राई, आमा जसामाया राई तथा धनकुमारी राई पाँच अंशियार हुन्। उनीहरूबीच यसअघि कानुनबमोजिम अंशबण्डा भएको प्रमाण नदेखिएको फैसलामा उल्लेख छ।
दिलमायाले आफूलाई कुटपिट गरी घरबाट निकालिएको र अंश नदिएको दाबी गर्दै मुद्दा दायर गरेकी थिइन्। अदालतले हर्कराजको हिस्साबाट दिलमाया र छोरी एलिसासमेतलाई अंश छुट्याउनुपर्ने ठहर गरेको छ।
फैसलाअनुसार समग्र अंश लाग्ने सम्पत्तिमा दिलमायाको हिस्सा १/१५ हुने देखिन्छ।
यो फैसला सम्बन्धविच्छेदसम्बन्धी नभई अंशचलनसम्बन्धी मुद्दा हो।
