काठमाडौं । क्षेत्रीय होटल संघ नेपाल चितवन, Asian-African Chamber of Commerce & Industry तथा World Trade Center Mumbai (WTC Mumbai) बीच व्यापारिक तथा आर्थिक सहकार्यका लागि समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ।
समझदारीले नेपाल र भारतबीच व्यापार, लगानी, पर्यटन तथा व्यवसायिक सम्पर्क विस्तारका लागि सहकार्यको नयाँ आधार तयार गर्ने अपेक्षा गरिएको छ।
विशेषगरी चितवन, सौराहा तथा समग्र नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्दै भारतीय तथा अन्य विदेशी पर्यटकलाई नेपाल भ्रमणका लागि आकर्षित गर्ने उद्देश्यमा यस सहकार्यले योगदान पुर्याउने विश्वास गरिएको छ।
समझदारीअन्तर्गत पर्यटन व्यवसायीबीच सहकार्य तथा व्यवसायिक नेटवर्क विस्तारसँगै भारतका विभिन्न शहर र अन्तर्राष्ट्रिय व्यापारिक सञ्जालमार्फत चितवन तथा नेपालको पर्यटन गन्तव्यको प्रचार–प्रसारलाई प्राथमिकता दिइने अपेक्षा गरिएको छ।
त्यसैगरी आगामी दिनमा पर्यटनसम्बन्धी व्यापारिक भेटघाट, B2B कार्यक्रम, पर्यटन प्याकेज प्रवर्द्धन तथा पर्यटन क्षेत्रमा लगानीका सम्भावनालाई अघि बढाउने वातावरण निर्माण हुने बताइएको छ।
क्षेत्रीय होटल संघ नेपाल चितवनको यो पहलले चितवनको पर्यटनलाई अन्तर्राष्ट्रिय व्यापारिक तथा पर्यटन बजारसँग जोड्न र नेपाल–भारतबीच पर्यटन तथा व्यवसायिक सम्बन्ध थप विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
