काठमाडौं । क्वालालम्पुरमा शनिबार सम्पन्न एसीसी पुरुष प्रिमियर कपको फाइनल दौरान आइसिसीको आचारसंहिता उल्लंघन गरेको भन्दै नेपालका रोहित पौडेलसहित संयुक्त अरब इमिरेट्स (यूएई) का खेलाडी अदीब उस्मानी र खुजैमा तनवीर कारबाहीमा परेका छन्।
आइसिसीका अनुसार तीनै खेलाडीले लेभल १ को आचारसंहिता उल्लंघन गरेका हुन्। रोहित र अदीबलाई म्याच फीको १५ प्रतिशत तथा खुजैमालाई १० प्रतिशत जरिवाना गरिएको छ। साथै, तीनै खेलाडीको अनुशासनात्मक रेकर्डमा एक–एक डिमेरिट अंक थपिएको छ।
रोहित र अदीबबीच ३१औँ ओभरमा भनाभन
नेपालको इनिङ्सको ३१औँ ओभरमा रोहित पौडेल र अदीब उस्मानीबीच भनाभन भएको थियो। खेलको अवस्था साम्य पार्न खोजिरहेका अम्पायरहरूको निर्देशन पालना नगरेको ठहर गर्दै दुवैलाई आचारसंहिताको धारा २.४ अन्तर्गत कारबाही गरिएको हो।
उक्त धारा अन्तर्राष्ट्रिय खेलका क्रममा अम्पायरको निर्देशन नमान्नेसम्बन्धी प्रावधान हो। घटनापछि दुवै खेलाडीमाथि अनुशासनात्मक कारबाही अघि बढाइएको थियो।
आउट भएपछि खुजैमाले स्टम्पमा हाने ब्याट
यूएईका खेलाडी खुजैमा तनवीर भने फरक घटनाका कारण कारबाहीमा परेका हुन्। यूएईको इनिङ्सको ४६औँ ओभरमा आउट भएपछि उनले आफ्नो ब्याटले स्टम्पमा प्रहार गरेका थिए।
आइसिसीले उक्त कार्यलाई अन्तर्राष्ट्रिय खेलका क्रममा क्रिकेट सामग्री, कपडा वा मैदानका संरचनाको दुरुपयोगसम्बन्धी धारा २.२ को उल्लंघन ठहर गरेको छ। सोही आधारमा उनलाई म्याच फीको १० प्रतिशत जरिवाना गरिएको हो।
तीनै जनाको पहिलो अनुशासन उल्लंघन
आइसिसीको विवरणअनुसार पछिल्लो २४ महिनाको अवधिमा तीनै खेलाडीको यो पहिलो अनुशासन उल्लंघन हो। त्यसैले उनीहरूको रेकर्डमा एक–एक डिमेरिट अंक थपिएको छ।
लेभल १ का उल्लंघनमा सामान्यतया आधिकारिक चेतावनीदेखि म्याच फीको अधिकतम ५० प्रतिशतसम्म जरिवाना र एक वा दुई डिमेरिट अंकसम्मको प्रावधान हुन्छ।
