काठमाडौं । अनिवार्य अवकाशको चार दिनअघि जिल्ला न्यायाधीश हिमलाल बेल्बासेलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएको छ। न्यायपरिषद्को मंगलबारको निर्णयले वरिष्ठता र नियुक्तिको औचित्यमाथि न्यायिक वृत्तमा प्रश्न उठाएको छ।
वरीयताक्रममा १३औँ नम्बरमा रहेका बेल्बासेलाई आफूभन्दा अगाडि रहेका १२ जना जिल्ला न्यायाधीशलाई पछि पार्दै जनकपुर उच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएको हो। उनी आगामी असोज ४ गते ६३ वर्षे उमेरहदका कारण अनिवार्य अवकाशमा जाँदैछन्।
नियुक्ति प्रक्रिया पूरा गरी पदभार ग्रहण गर्दागर्दै अवकाशको मिति आउने अवस्था रहेकाले उनको सिफारिसलाई लिएर न्यायाधीश नियुक्तिको मापदण्ड, वरिष्ठता र औचित्यमाथि चर्चा सुरु भएको छ।
न्यायपरिषद्ले सर्वोच्च अदालतका रजिस्ट्रार भद्रकाली पोखरेल र फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक गजेन्द्रबहादुर सिंहलाई पनि उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ।
बेल्बासे कास्की जिल्ला अदालतमा रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधसम्बन्धी अभियोग संशोधन हुने फैसला गरेका न्यायाधीश हुन्।
अवकाशको संघारमा रहेका उनलाई उच्च अदालतमा पुर्याउने निर्णयले न्यायपरिषद्को नियुक्ति प्रक्रियामाथि थप बहस निम्त्याएको छ।
