बागलुङ । भोटेकोसी बाढीपछि बेपत्ता इन्जिनियर दम्पती र उनीहरूका दुई सन्तान फेला नपरेपछि परिवारले बिहीबार चारै जनाको कुशको शव बनाएर अन्तिम संस्कार गरेको छ।
त्रिशूली–३ बी जलविद्युत् आयोजनामा कार्यरत बागलुङ नगरपालिका–९, तित्याङका ३३ वर्षीय राजेश शर्मा पौडेल, उनकी ३१ वर्षीया श्रीमती प्रमिला पाठक तथा उनीहरूका चार वर्षीय छोरा आदित्य र दुई वर्षीया छोरी अदीति १६ दिनसम्म पनि फेला नपरेपछि अभिभावकले हिन्दू परम्पराअनुसार कुशको शव बनाएर अन्तिम संस्कार गरेका हुन्।
बेपत्ता इन्जिनियर दम्पतीका आफन्त विष्णु शर्माका अनुसार राजेश पौडेल परिवारका एकमात्र छोरा थिए।
यसैबीच, त्रिशूली हाइड्रोपावरमा कार्यरत तमानखोला गाउँपालिकाका नौ, ढोरपाटन नगरपालिकाका दुई, गलकोट नगरपालिकाका एक तथा त्रिशूली–३ बी आयोजनामा कार्यरत बागलुङ नगरपालिकाका चारसहित १६ जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
–रासस
