काठमाडौं । नेपाली कांग्रेसले पार्टीको संगठनात्मक निर्वाचन प्रक्रियालाई सहज बनाउन सातै प्रदेशमा निर्वाचन संयोजक तोकेको छ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले प्रदेशस्तरमा निर्वाचन प्रक्रियासम्बन्धी आवश्यक राय–परामर्श र सहजीकरणका लागि वरिष्ठ अधिवक्ताहरूलाई संयोजकको जिम्मेवारी तोकेका हुन् ।
समितिले बिहीबार जारी गरेको सूचनाअनुसार प्रदेशगत रूपमा निर्वाचन संयोजकको जिम्मेवारी पाउनेमा कोशी प्रदेशमा वरिष्ठ अधिवक्ता डिल्लीबहादुर कार्की, मधेसमा बलराम सुवेदी, बागमतीमा कृष्ण अर्याल, गण्डकीमा जगन्नाथ ढकाल, लुम्बिनीमा दीपककुमार रेग्मी, कर्णालीमा उत्तम आचार्य र सुदूरपश्चिममा गंगाराम पाध्याय रहेका छन्।समितिका अनुसार सम्बन्धित प्रदेशमा पार्टीको संगठनात्मक निर्वाचनसँग सम्बन्धित विषयमा आवश्यक राय–परामर्श, समन्वय र सहजीकरण गर्ने उद्देश्यले संयोजकहरू तोकिएको हो।
यसैबीच, बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लामा भने तोकिएका निर्वाचन अधिकृत र पार्टीको स्थानीय तहसँग समन्वय गरी अधिवेशन सम्पन्न गर्न समितिले निर्देशन दिएको छ।
![कांग्रेसले सातै प्रदेशमा निर्वाचन संयोजक तोक्यो, को-कहाँ ? [सूचीसहित]](https://scoopkhabar.com/wp-content/uploads/2026/09/FB_IMG_1789089005738.jpg)