काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारमाथि संसदमा गम्भीर प्रश्न उठाउँदै आफ्नै सरकारविरुद्ध कडा अभिव्यक्ति दिएका छन्। उनले सरकार सिंहदरबारबाट नभई प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनको ज्वागलस्थित निवासबाट चलिरहेको आरोप लगाउँदै ‘गुण्डा शैलीको शासन’ भइरहेको दाबी गरे।
सिंहले संविधानले सल्लाहकारलाई कार्यकारी अधिकार नदिए पनि प्रधानमन्त्रीको सचिवालयका केही व्यक्तिले कर्मचारी, प्रहरी तथा सुरक्षा निकायका प्रमुखलाई दबाब दिने गरेको आरोप लगाए। उनले सल्लाहकार बेन लुकीछिपी भारतीय जासुसी संस्थालाई भेट्न दिल्ली गएको र त्यहाँ ललित प्यालेसको दोस्रो तलामा बसेको दाबीसमेत गरे। यस्ता गतिविधिले राज्यको प्रतिष्ठामाथि प्रश्न उठाएको उनको भनाइ थियो।
उनले उद्योगमन्त्री गौरीकुमारी यादवले स्वेच्छाले नभई दबाबमा राजीनामा दिएको र उनलाई पक्राउ गराउने प्रयाससमेत भएको दाबी गरे। साथै प्रधानमन्त्रीको सचिवालयले सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशकलाई बोलाएर दबाब दिएको तथा एक व्यक्तिलाई दुई घण्टाभित्र रेडकर्नर नोटिस जारी गर्न आदेश दिएको जस्ता गम्भीर आरोप पनि सिंहले संसदमा लगाए।
सिंहले ‘अथोरिटी विदाउट एकाउन्टेबिलिटी’ खतरनाक हुने भन्दै प्रधानमन्त्रीलाई समेत चेतावनी दिए। मधेसी समुदायको समर्थनमा सरकार बनेको भन्दै उनले मधेसीलाई दबाउने प्रयास भए सरकारको ‘नाश लेखिएको’ दाबी गरे। आफू गुटमा नभई पार्टीमा विश्वास गर्ने भन्दै उनले ज्वागलमा आफू र पत्रकार तथा सांसदहरू नपुगेकै कारण आफूलाई बेवास्ता गरिएको हो कि भन्ने व्यंग्यसमेत गरे।
सिंहका यी आरोपहरूबारे प्रधानमन्त्रीको सचिवालय वा सम्बन्धित व्यक्तिहरूको धारणा भने समाचार तयार पार्दासम्म सार्वजनिक भएको छैन।
