काठमाडौं । जेन्जी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा भदौ २३ र २४ गते देशभर विभिन्न कार्यक्रम आयोजना गरी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको सम्झना गरिएको छ।
यसै क्रममा ‘जेनजी शहीद परिवार कल्याणकारी समाज’को आयोजनामा काठमाडौंको नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी थिए।
यस्तै कार्यक्रममा कानुनमन्त्री सोबिता गौतम, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन, पूर्वाधारमन्त्री सुनिल लम्साललगायतको उपस्थिति थियो।
कार्यक्रममा आन्दोलनका क्रममा ज्यान गुमाएका जेनजी सहिदहरूको सम्झना गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो। प्रमुख अतिथिका रूपमा सम्बोधन गरेका गृहमन्त्री गुरुङले पनि आन्दोलनमा ज्यान गुमाएका सहिदहरूको योगदान र बलिदानबारे धारणा राखे।
तर, उक्त सम्बोधनमा आन्दोलनका क्रममा कर्तव्य निर्वाहकै क्रममा ज्यान गुमाएका नेपाल प्रहरीका तीन कर्मचारीको बलिदानबारे भने चर्चा भएन। प्रहरीका तर्फबाट आन्दोलनमा ज्यान गुमाएका तीन अमर प्रहरीको नामसमेत सम्बोधनका क्रममा उल्लेख भएन।

जेन्जी आन्दोलनका क्रममा नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक मिलन राय, प्रहरी सहायक हवल्दार उत्तम थापा र अमृत गुरुङले ज्यान गुमाएका थिए। आन्दोलनका क्रममा घाइते भएका उनीहरूको उपचारका क्रममा मृत्यु भएको थियो।
नागरिकतर्फका सहिदहरूको सम्झनामा राज्यस्तरमै कार्यक्रम भइरहँदा आन्दोलनकै क्रममा कर्तव्य निर्वाह गर्दा ज्यान गुमाएका प्रहरी कर्मचारीको बलिदान भने उक्त कार्यक्रममा छुटेको देखियो। यहीबीच, प्रहरी वृत्त महाराजगन्जले भने आफ्ना अमर प्रहरीलाई सम्झिँदै वार्षिक श्रद्धाञ्जली तथा सम्मान कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दिलीप घिमिरेले अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। उनले अमर प्रहरीका आफन्तलाई नगद सहयोगसमेत प्रदान गरे।
त्यसैगरी अमर प्रहरीका परिवारजनलाई दोसल्ला ओढाएर सम्मान गर्नुका साथै सम्मानपत्रसमेत हस्तान्तरण गरिएको थियो।
कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौं मातहतका प्रहरी वृत्तका इन्चार्जसहित विभिन्न तहका वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति थियो।
सहयोगदाताका तर्फबाट सामुदायिक सेवा केन्द्र चुडालदेवीका अध्यक्ष रामप्रसाद न्यौपानेले पनि जेन्जी आन्दोलनमा ज्यान गुमाएका प्रहरी कर्मचारीप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।
जेन्जी आन्दोलनको एक वर्ष पूरा हुँदा नागरिक सहिदहरूको सम्झना भइरहँदा उही आन्दोलनमा कर्तव्य निर्वाहका क्रममा ज्यान गुमाएका प्रहरी कर्मचारीको योगदान पनि स्मरण र सम्मानको विषय बन्नुपर्ने देखिन्छ।
महाराजगन्ज वृत्तले आयोजना गरेको कार्यक्रमले भने अमर प्रहरीका परिवारलाई सम्झँदै उनीहरूको बलिदानप्रतिको सम्मानलाई निरन्तरता दिएको छ।








