कपिलवस्तु । रसुवाको भोटेकोशीमा आएको बाढीपछि श्रीमान् १२ दिनदेखि बेपत्ता छन्। श्रीमानको अवस्थाबारे कुनै खबर नआएपछि कपिलवस्तुकी एक नवविवाहिताले आत्महत्याको प्रयास गरेकी छन्।
महाराजगन्ज नगरपालिका–४ बरइपुरका २३ वर्षीय प्रहरी जवान आशिष गडरिया भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएका हुन्।
आशिषको अवस्थाबारे लामो समयसम्म कुनै जानकारी नआएपछि उनकी २१ वर्षीया श्रीमती प्रियंकाले आइतबार बिहान आत्महत्याको प्रयास गरेकी हुन्। घरपरिवार तथा स्थानीयवासीले तत्काल उद्धार गरेपछि उनको ज्यान जोगिएको छ।
प्रहरीका अनुसार प्रियंकाको लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा उपचार भइरहेको छ। उनको अवस्था स्थिर रहेको प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले जानकारी दिए।
आशिष र प्रियंकाको विवाह गत वैशाखमा मात्रै भएको थियो। प्रहरी जवानमा नियुक्त भएको करिब १७ महिनापछि आशिष आठ महिनाअघि रसुवाको मैलुङमा कार्यरत भएका थिए।
आशिष परिवारका एक्ला छोरा हुन्। उनी बेपत्ता भएपछि उनका बुबा खेदु र आमा निर्मला छोराको खोजीमा छन्। लामो समयसम्म छोराको अवस्थाबारे कुनै जानकारी नआउँदा परिवारमा चिन्ता र निराशा बढ्दै गएको छ।
भोटेकोशी बाढीपछि आशिषसहित कपिलवस्तुका ६ जना अझै सम्पर्कविहीन रहेको बताइएको छ। उनीहरूको खोजी तथा उद्धारका लागि प्रयास जारी रहे पनि हालसम्म बेपत्ताहरूको अवस्थाबारे यकिन जानकारी प्राप्त हुन सकेको छैन।
नवविवाह भएको केही महिनामै श्रीमान् बाढीमा बेपत्ता भएपछि प्रियंकाले मानसिक रूपमा ठूलो पीडा खेप्दै आएकी छन्। श्रीमानको अवस्थाबारे कुनै खबर नआउँदा उत्पन्न निराशाले उनलाई यस्तो कदम चाल्न बाध्य बनाएको परिवारको भनाइ छ।
