वीरगञ्ज । वीरगञ्जको एक क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराएर जुवा खेलाएको आरोपमा जनप्रतिनिधिदेखि बहालवाला प्रहरी निरीक्षक (इन्स्पेक्टर)सम्म पक्राउ परेका छन्।
पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित गोल्डेन फिंगर गेमिङ जोन प्रालि (क्यासिनो) मा छापा मारेर सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव र पोखरिया इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रदीप पौडेलसहित आठ जनालाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार भदौ १२ गते राति करिब १०ः३० बजे क्यासिनोमा नेपाली नागरिक प्रवेश गरी जुवा खेलिरहेको सूचना पाएपछि टोली परिचालन गरिएको थियो। छापा मार्ने क्रममा नेपालीलाई क्यासिनोमा प्रवेश गराउने तथा जुवा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका गाउँपालिका अध्यक्ष यादव सखुवाप्रसौनी गाउँपालिका–६ का ३६ वर्षीय हुन्। उनी नेकपा एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्ष हुन्।
त्यस्तै पक्राउ परेका प्रहरी निरीक्षक पौडेल स्याङ्जाको हरिनास गाउँपालिका–९ का ३६ वर्षीय हुन्। उनी हाल इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुखका रूपमा कार्यरत रहेको प्रहरी स्रोतले जनाएको छ।
प्रहरीका अनुसार पौडेल ड्युटीमा रहनुपर्ने समयमा गाउँपालिका अध्यक्ष यादवसहित केही स्थानीय व्यवसायीसँगै क्यासिनो पुगेका थिए।
यस घटनाले कानून कार्यान्वयन गर्ने जिम्मेवारीमा रहेका प्रहरी अधिकारी स्वयं क्यासिनो पुगेको विषयलाई समेत गम्भीर बनाएको छ।
क्यासिनोबाट सरकारी स्कर्पियोसमेत बरामद
प्रहरीले क्यासिनो परिसरबाट सखुवाप्रसौनी गाउँपालिकाको सरकारी सवारीसाधनसमेत नियन्त्रणमा लिएको छ।
क्यासिनोमा ना.१ झ १६८७ नम्बरको गाउँपालिकाको स्कर्पियो भेटिएपछि प्रहरीले त्यसलाई नियन्त्रणमा लिएको हो।
घटनासँगै क्यासिनोको हार्डडिक्स, विभिन्न कागजात, कम्प्युटर तथा सीसीटीभीको डीभीआरसमेत प्रहरीले बरामद गरेको छ।
अध्यक्ष र इन्स्पेक्टरसहित ८ जना पक्राउ
जुवा खेल्ने कार्यमा संलग्न रहेको आरोपमा अध्यक्ष यादव र प्रहरी निरीक्षक पौडेलसँगै वीरगञ्ज–११ का चन्दन सहनी र ओमप्रकाश बैठालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
त्यसैगरी नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गराउने तथा जुवा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा वीरगञ्ज–१४ का विजयकुमार पटेल, वीरगञ्ज–२५ का दिनेशकुमार पटेल, महोत्तरी पिपरा–५ का जयदेव साह र वीरगञ्ज–१२ का प्रदेशी साह पक्राउ परेका छन्।
000
पक्राउ परेका प्रहरी निरीक्षक पौडेल केही समयअघि मात्रै निर्वाचनमा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै प्रदेश प्रहरीबाट नगदसहित पुरस्कृत भएको पर्साका प्रहरी प्रमुख एसपी पवनकुमार भट्टराईले बताएका छन्।
एसपी भट्टराईका अनुसार पौडेलले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उत्कृष्ट काम गरेका थिए।
तर, अहिले भने उनी नै ड्युटीको समयमा गाउँपालिका अध्यक्षसहित क्यासिनो पुगेको र नेपालीलाई क्यासिनोमा प्रवेश गराई जुवा खेलाइएको घटनामा पक्राउ परेका छन्।
प्रहरीकै संरक्षणमा नेपालीलाई क्यासिनोमा प्रवेश गराएर जुवा खेलाउने गरिएको सूचना पाएपछि एसपी भट्टराई आफैँ क्यासिनो पुगेका थिए। त्यसक्रममा अध्यक्ष, प्रहरी निरीक्षकसहित ८ जनालाई नियन्त्रणमा लिइएको पर्सा प्रहरीले जनाएको छ।
पौडेल गत वर्ष असोजको अन्तिम साता प्रहरी प्रधान कार्यालयको मानवस्रोत विभागबाट वीरगञ्ज गएका थिए।
