रौतहट । रौतहटको कटहरिया बजारमा भएको खसी चोरीको घटनाले चोरी गर्नेभन्दा चोरीको सामान खरिद गर्ने पक्षको भूमिकामाथि समेत प्रश्न उठाएको छ। चोरीको खसी खरिद–बिक्रीमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएपछि घटना थप पेचिलो बनेको हो।
पक्राउ पर्नेमा कटहरिया नगरपालिका–५ का २० वर्षीय मुकेश कुमार राम, १७ वर्षीय रुपेश राम, चोरीको खसी खरिद गरेको आरोपमा १८ वर्षीय समीर मन्सुरी र उनका साझेदार ४७ वर्षीय दिनेश दास बानियाँ छन्।
प्रहरीका अनुसार मुकेश र रुपेशले स्थानीय सफ्रुला भनिने सफरुदिन मियाँ मन्सुरीको करिब १५ देखि २० किलो तौलको खसी बुधबार राति चोरी गरेका थिए। चोरी गरिएको उक्त खसी समीर र दिनेशलाई १३ हजार रुपैयाँमा बिक्री गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
खसी चोरी भएको थाहा पाएपछि पीडित सफ्रुलाले खोजी गर्ने क्रममा मुकेश र रुपेशलाई फेला पारेका थिए। त्यसपछि उनीहरूलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय कटहरियामा बुझाइएको थियो।
पक्राउ परेकाहरूसँग सोधपुछ गर्दा चोरीको खसी खरिद गर्ने पक्षको समेत संलग्नता खुलेपछि इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख वरिष्ठ सई जयप्रकाश साहको टोलीले समीर र दिनेशलाई समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
चोर पक्राउ परेपछि ‘मिलाउने’ प्रयास
चारै जना पक्राउ परेपछि अनुसन्धान अघि बढिरहेका बेला केही बिचौलिया सक्रिय भएको प्रहरी स्रोतको दाबी छ।
प्रहरी स्रोतका अनुसार बिचौलियाले चारै जनालाई एकमुष्ट १ लाख २० हजार रुपैयाँ जरिवाना तिराएर गाउँमै मिलापत्र गराउने प्रयास गरेका थिए। तर, वरिष्ठ सई साहले चोरीजस्तो आपराधिक घटनालाई जरिवाना र मिलापत्रमा सीमित गर्न नमानेको स्रोतको भनाइ छ।
साहको अडानपछि चारै जनालाई थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि शनिबार इलाका प्रहरी कार्यालय गरुडामा पठाइएको बताइएको छ।
‘चोरीको घटना मिलापत्र गरेर आरोपीलाई छाड्दा गलत सन्देश जान्छ। दोषीमाथि कानुनी कारबाही हुनुपर्छ’ भन्ने अडानसहित साहले आरोपीलाई माथिल्लो निकायमा पठाएको प्रहरी स्रोतको दाबी छ।
इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी शंकरप्रसाद आचार्यले चोरीको खसी खरिद–बिक्रीमा संलग्न रहेको आरोपमा चार जना नियन्त्रणमा रहेको पुष्टि गरेका छन्।
उनका अनुसार शनिबार साँझसम्म पीडित पक्षबाट औपचारिक जाहेरी प्राप्त भएको थिएन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
चोरीभन्दा ठूलो समस्या ‘खरिद गर्ने बजार’?
कटहरिया र आसपासका क्षेत्रमा खसी–बोका चोरीका घटना बढ्दै गएको स्थानीयको गुनासो छ। चोरीको सामान सहजै बिक्री हुने अवस्था रहँदा चोरी गर्नेहरूलाई समेत प्रोत्साहन पुग्ने गरेको स्थानीयको भनाइ छ।
यस्ता घटनामा चोरी गर्ने व्यक्ति मात्र नभई चोरीको सामान खरिद गर्ने व्यक्ति तथा घटनालाई संरक्षण वा मिलापत्र गराउन खोज्ने बिचौलियाको भूमिकामाथि समेत अनुसन्धान आवश्यक रहेको स्थानीय बताउँछन्।
चोरीको सामान खरिद गर्ने पक्षमाथि कारबाही नहुने हो भने चोरीको शृंखला रोक्न कठिन हुने उनीहरूको भनाइ छ। अर्कोतर्फ, घटना सार्वजनिक भएपछि आर्थिक जरिवाना वा गाउँमै मिलापत्र गरेर कानुनी प्रक्रिया टार्ने प्रयासले अपराध नियन्त्रणमा थप चुनौती निम्त्याउने स्थानीयको बुझाइ छ।
त्यसैले कटहरियाको यो घटना एउटा खसी चोरीमा मात्रै सीमित छैन। यसले चोरीको सामान किन्ने–बेच्ने सम्भावित सञ्जालसँगै यस्ता घटनालाई गाउँमै ‘मिलाउने’ प्रयासमाथि समेत प्रश्न खडा गरेको छ।
स्थानीयले चोरी तथा चोरीको सामान खरिद–बिक्रीमा संलग्न सबै पक्षमाथि निष्पक्ष अनुसन्धान गरी दोषी देखिए कानुनी कारबाही गर्न प्रहरी प्रशासनसँग माग गरेका छन्।
