काठमाडौं । अकल्पनीय रूपमा आएको भोटेकोशी बाढीले निम्त्याएको विपद्मा नेपाल प्रहरी बहुआयामिक चुनौतीबीच पनि आफ्नो कर्तव्यपथमा अडिग रहँदै उद्धार तथा खोजी अभियानदेखि नागरिकको सुरक्षा र राहत व्यवस्थापनसम्म निरन्तर खटिएको छ।
सीमित साधनस्रोतका बाबजुद उपलब्ध जनशक्ति, प्रविधि र स्रोतसाधनको अधिकतम प्रयोग गर्दै प्रहरीले विपद्को सामना गरिरहेको जनाएको छ। सूचना संकलन तथा विश्लेषणदेखि आवश्यक रणनीति निर्माण र विशेष टोली परिचालनसम्मका कामलाई तीव्रता दिइएको छ।
पछिल्लो तथ्याङ्कअनुसार विपद् व्यवस्थापनका लागि ७ हजार ९१२ जना प्रहरी कर्मचारी परिचालन भएका छन्। बाढी प्रभावित क्षेत्रबाट हालसम्म ६ हजार ८५३ जनाको उद्धार गरिएको छ भने ५ हजार १५ जना अझै बेपत्ता रहेको तथ्याङ्क प्रहरीले सार्वजनिक गरेको छ।
बेपत्ता नागरिकको खोजीलाई प्रभावकारी बनाउन प्रहरीले विशेष टोलीसँगै तालिमप्राप्त कुकुर र ड्रोन क्यामेरा परिचालन गरेको छ। नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी नायब महानिरीक्षकको नेतृत्वमा ‘नेपाल प्रहरी विपद् उद्धार तथा समन्वय सूचना व्यवस्थापन केन्द्र’ स्थापना गरी २४ घण्टा अनुगमन तथा समन्वय भइरहेको छ।
केन्द्रमा बेपत्ता आफन्तको खोजी तथा उद्धारका लागि परिवारजनबाट आउने सूचनालाई सम्बन्धित प्रहरी युनिटसम्म पुर्याएर खोजी कार्य अघि बढाइएको छ। हालसम्म उक्त केन्द्रमा १ हजार ३५१ पटक खोजी तथा उद्धारका लागि अनुरोध आएको प्रहरीले जनाएको छ।
प्रविधिको प्रयोगमार्फत पनि प्रहरीले खोजीलाई तीव्रता दिएको छ। नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीमा ड्रोनको प्रयोग गरी एउटा घरको भग्नावशेषबाट २४ वटा शव फेला पारिएको प्रहरीले जनाएको छ।
बाढीमा परी बेपत्ता भएका विदेशी नागरिकको खोजी तथा पहिचानका लागि नेपाल प्रहरी प्रधान कार्यालय र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘Missing Help Desk’ स्थापना गरिएको छ। सम्बन्धित दूतावास तथा कूटनीतिक नियोगसँग आवश्यक समन्वय गरी सूचना आदानप्रदान भइरहेको छ।
उद्धारसँगै फेला परेका शव तथा मानव अङ्गको वैज्ञानिक व्यवस्थापनमा पनि प्रहरीले विशेष ध्यान दिएको छ। फोरेन्सिक विशेषज्ञ तथा Scene of Crime Officer (SOCO) सहितको टोली परिचालन गरी शव पहिचान, घटनास्थल मुचुल्का तथा आवश्यक कानुनी प्रक्रिया पूरा गर्ने काम भइरहेको छ।
पहिचान हुन नसकेका शवको वैज्ञानिक पहिचानका लागि डीएनए नमुना संकलन तथा प्रोफाइलिङ समेत भइरहेको प्रहरीले जनाएको छ।
विपद्को मौका छोपेर हुनसक्ने चोरी, लुटपाट तथा राहत संकलनका नाममा हुने ठगी नियन्त्रणमा पनि प्रहरी सक्रिय छ। विस्थापित नागरिकका खाली घरको सुरक्षा तथा प्रभावित क्षेत्रमा गस्ती र निगरानी बढाइएको छ।
सामाजिक सञ्जालमार्फत फैलाइने अफवाह, गलत सूचना तथा भ्रामक समाचारमाथि समेत प्रहरीले निगरानी बढाएको छ। राहत तथा उद्धार कार्यमा अवरोध पुग्ने गरी गलत सूचना फैलाउनेलाई कानुनी दायरामा ल्याउने प्रहरीले जनाएको छ।
त्यसैगरी, बाढी प्रभावित तथा घाइतेको स्वास्थ्य उपचारका लागि नेपाल प्रहरी अस्पतालबाट विशेषज्ञ चिकित्सकको टोली परिचालन गरिएको छ। घाइतेको उपचारसँगै मानसिक तनाव न्यूनीकरणका लागि मनोपरामर्शसमेत प्रदान भइरहेको छ।
विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा रहेका उद्धार गरिएका नागरिकलाई राहत वितरणमा स्थानीय तह तथा सम्बन्धित निकायसँग समन्वय गर्नुका साथै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको सुरक्षामा समेत विशेष ध्यान दिइएको छ।
बाढीका कारण हिलाम्मे भएका विद्यालय, स्वास्थ्य चौकी, अस्पताल तथा विस्थापित नागरिकका घरको सरसफाइ तथा मर्मतसम्भारमा समेत प्रहरीले सहयोग गरिरहेको छ। अवरुद्ध सडकको सूचना प्रवाह, वैकल्पिक मार्गको जानकारी तथा सडक पुनः सञ्चालनका लागि सम्बन्धित निकायसँग समन्वयसमेत भइरहेको छ।
विपद्को यो कठिन घडीमा प्रहरीले उद्धार, बेपत्ताको खोजी, शव व्यवस्थापन, राहत समन्वय, स्वास्थ्य सहयोग, अपराध नियन्त्रण, सम्पत्तिको सुरक्षा र सामुदायिक सचेतनालाई एकसाथ अघि बढाइरहेको छ।
साधनस्रोत सीमित भए पनि चुनौतीबाट प्रहरी पछि हटेको छैन। नागरिकको जीवनरक्षा र सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्दै नेपाल प्रहरी आफ्नो कर्तव्यपथमा निरन्तर अडिग छ।
