काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली तथा त्रिभुवन आर्मी क्लबका चर्चित स्ट्राइकर भरत खवास नेपाली सेनाको सेनानी (मेजर) पदमा पदोन्नति भएका छन्।
१० भदौमा भोटेकोशीमा आएको विनाशकारी बाढीपछि उद्धार तथा राहत व्यवस्थापनका लागि नुवाकोटको त्रिशूली क्षेत्रमा खटिएका खवासलाई ड्युटीकै क्रममा शुक्रबार घटनास्थलमै सेनाले दर्ज्यानी चिह्न प्रदान गरेको हो।
सहसेनानी (क्याप्टेन)बाट नियमित प्रक्रियाअनुसार खवास सेनानीमा बढुवा भएको नेपाली सेनाले जनाएको छ।
बाढीपछि त्रिशूली क्षेत्रमा उद्धार र राहत कार्यमा सक्रिय खवासले पदोन्नतिलाई देशसेवासँग जोडेर हेरेका छन्।
‘लामो समयदेखि देशको सेवामा समर्पित छु। मेजर पदमा पदोन्नति हुन पाउँदा निकै गर्व गर्छु,’ उनले भने, ‘एउटा खेलाडीका लागि यो ठूलो उपलब्धि हो।’
खवास पछिल्लो दशक नेपाली राष्ट्रिय फुटबल टोलीका नियमित सदस्य थिए। मैदानमा स्ट्राइकरका रूपमा परिचित उनी नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका महत्वपूर्ण खेलाडीसमेत हुन्।
एक वर्षअघि बंगलादेशविरुद्ध दशरथ रंगशालामा हुने भनिएको मैत्रीपूर्ण खेलबाट उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गरेका थिए। तर, गत वर्ष भदौ २२ र २३ गतेको जेन–जी आन्दोलनका कारण उक्त खेल हुन नसकेपछि उनको राष्ट्रिय टोलीबाट अन्तिम खेल खेल्ने अवसर गुम्यो।
बंगलादेशको टोली पनि नेपालमा अवस्था असहज बनेपछि स्वदेश फर्किएको थियो। त्यसपछि बंगलादेशमै भएको मैत्रीपूर्ण खेलमा खवास टोलीमा पर्न सकेनन्। त्यसैले उनको सन्न्याससमेत औपचारिक रूपमा टुंगिन सकेको छैन।
फ्रेन्ड्स क्लबबाट फुटबल करियर सुरु गरेका खवासले लामो समय नेपाल पुलिस क्लबबाट समेत खेले। उत्कृष्ट प्रदर्शनपछि उनले नेपाली सेनाको अधिकृत क्याडेटमा नाम निकालेका थिए।
सेनामा प्रवेश गरेपछि पनि उनले फुटबललाई निरन्तरता दिए। राष्ट्रिय टोलीसँगै त्रिभुवन आर्मी क्लबबाट खेल्दै आएका खवासको आगमनपछि आर्मी क्लब घरेलु फुटबलमा थप बलियो बनेको थियो।
सहिद स्मारक ‘ए’ डिभिजन लिगमा समेत खवासले व्यक्तिगत कीर्तिमान कायम गरेका छन्।
मैदानमा गोल गर्ने स्ट्राइकर, देश संकटमा पर्दा उद्धारमा खटिएका सैनिक—भरत खवासको परिचय अब ‘मेजर’सम्म पुगेको छ।
