काठमाडौं । रसुवाको भोटेकोसी बाढीपछि परिवार तथा आफन्तको सम्पर्कमा नरहेका इलाका प्रहरी कार्यालय कालिकास्थान, रसुवाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) रमेश राय यादव सम्पर्कमा आएका छन्।
यादवले शुक्रबार राति सामाजिक सञ्जालमार्फत आफू सकुशल रहेको जानकारी दिएका हुन्। उनले आफू अहिले बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा खटिरहेको बताएका छन्।
रसुवामा विगत दुई दिनदेखि नेटवर्कमा समस्या रहेकाले नियमित सम्पर्क हुन नसकेको उनले स्पष्ट पारेका छन्। नेटवर्क अस्थिर हुनुका साथै उद्धार कार्यमा निरन्तर खटिनुपरेकाले फोन तथा म्यासेजको जवाफ दिनसमेत नसकेको उनको भनाइ छ।
‘फोन रिसिभ गर्नसमेत समय पर्याप्त नभएर यहाँहरूको कल, म्यासेजको रेस्पोन्स गर्न पाएको छैन, त्यसप्रति क्षमाप्रार्थी छु,’ यादवले सामाजिक सञ्जालमा लेखेका छन्।
उनले आफू हालसम्म सकुशल रहेको जानकारी दिँदै उद्धार कार्यमै खटिरहेको बताएका छन्। उनले लेखेका छन्, ‘अहिलेसम्म ठिक छु। पछि भन्न सकिन्न।’
यादव सम्पर्कमा आएपछि उनको अवस्थाबारे चिन्तित परिवार, आफन्त तथा शुभेच्छुकलाई राहत मिलेको छ।
