नुवाकोट । भदौ १० गते बिहान करिब १० बजेको थियो। नुवाकोटको देवीघाट बजारमा स्थानीयहरू खाना खाँदै थिए। कोही खाना पकाउँदै थिए भने कोही खाना खाने तयारीमा।
त्यही बेला देवीघाट प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक (असई) अरुणकुमार बैठाको सञ्चार सेटमा आपत्कालीन सूचना आयो- भोटेकोसीमा ठूलो बाढी आएको छ, तटीय क्षेत्रका बासिन्दालाई तत्काल माइकिङमार्फत जानकारी गराउनू।
जिल्ला प्रहरी कार्यालय नुवाकोटको सञ्चार शाखाबाट आएको आदेशलगत्तै असई बैठाले मोटरसाइकल चालक बोलाए र माइकिङ गर्दै देवीघाटका तल्लो तथा माथिल्लो बजारतर्फ दौडिए।
उनको चेतावनीपछि स्थानीयहरू धमाधम सुरक्षित स्थानतर्फ लाग्न थाले। कतिपयले खाना खाँदै गरेको गाँससमेत छाडे भने कतिले पस्किएको खाना त्यत्तिकै छाडेर घरबाट निस्किए। बैठा र स्थानीय वडाध्यक्ष घर–घरमै पुगेर मानिसलाई सुरक्षित स्थानतर्फ सार्न सक्रिय भए।
‘सूचना जारी गरेको एक घण्टा नहुँदै बाढी आयो’
असई बैठाका अनुसार माइकिङ सुरु गरेको करिब एक घण्टामै बाढी देवीघाटमा आइपुगेको थियो। त्यसअघि नै अधिकांश स्थानीयलाई सुरक्षित स्थानमा सारिसकिएको थियो।
‘म र यहाँको वडाध्यक्ष घर-घरमै पुग्यौँ। त्यसैले यहाँको बस्ती बाढीले डुबाए पनि नागरिकलाई बचाउन सफल भयौँ,’ बैठाले भने।
बाढी आउँदा देवीघाटस्थित वृद्धाश्रममा रहेका व्यक्तिहरूलाई समेत सुरक्षित स्थानमा सारिसकिएको उनले बताए। तर उद्धारमा खटिएका बैठा आफैँ भने बाढीको चपेटामा परे। उनलाई एक पूर्वप्रहरी हवल्दारले तानेर उद्धार गरेका थिए।
‘मैले बाढीबारे सूचना जारी गरेको एक घण्टा हुँदै थियो। आश्रमसहित यहाँका स्थानीयलाई सुरक्षित ठाउँमा सारिसकेका थियौँ। माइकिङ गर्दै नै थिएँ, बाढी आयो। म आफैँ असुरक्षित भएँ। मलाई एकजना पूर्वप्रहरी हवल्दारले तानेर जोगाउनुभयो,’ बैठाले सुनाए।
समयमै सूचना, तत्काल माइकिङ र घर–घरमा पुगेर गरिएको उद्धार प्रयासका कारण देवीघाटको ठूलो बस्ती बाढीमा डुबे पनि मानवीय क्षति हुनबाट जोगिएको स्थानीयको भनाइ छ।
विपद्को समयमा एउटा सही सूचना कति महत्वपूर्ण हुन्छ भन्ने उदाहरण बनेको यो घटनामा असई बैठाको तत्काल सक्रियता र स्थानीय प्रहरीको भूमिकाको प्रशंसा भइरहेको छ।
