काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को २०२६–२०२८ कार्यकालका लागि आज निर्वाचन हुँदैछ। निर्वाचनसँगै महासचिव पदमा उम्मेदवारी दिएका पर्यटन व्यवसायी सुशील पन्तको दाबेदारी पनि चर्चामा छ।
जीस्वा तुलाधर नेतृत्वको प्यानलबाट महासचिव पदमा उम्मेदवारी दिएका पन्तले नाट्टालाई सदस्यकेन्द्रित, पारदर्शी र प्रविधिमैत्री संस्थाका रूपमा विकास गर्ने एजेन्डा अघि सारेका छन्।
लामो समयदेखि पर्यटन व्यवसायमा सक्रिय पन्तले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत पद प्राप्तिको विषयभन्दा संस्थागत सुधार र सदस्यको व्यावसायिक हितसँग जोड्दै आएका छन्। उनले नाट्टा सचिवालयको सेवा प्रवाहलाई प्रभावकारी बनाउने, डिजिटल प्रणाली विस्तार गर्ने तथा संस्थागत निर्णय प्रक्रियालाई थप पारदर्शी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
साना तथा मझौला ट्राभल व्यवसायीका समस्या समाधान, व्यवसायमैत्री नीतिका लागि सरकारसँग प्रभावकारी पैरवी, नयाँ तथा वैकल्पिक पर्यटकीय गन्तव्यको प्रवर्द्धन तथा पर्यटन व्यवसायमा देखिएका व्यावहारिक समस्याको दीर्घकालीन समाधान खोज्ने उनको योजना छ।
गोरखाको पालुङटारमा जन्मिएका पन्तले त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक तथा सार्वजनिक प्रशासनमा स्नातकोत्तर अध्ययन गरेका छन्। अधिवक्तासमेत रहेका उनी सन् १९९८ देखि पर्यटन व्यवसायमा सक्रिय छन्। हाल उनी गोर्खा इन्टरनेशनल ट्राभल्स तथा एडभेन्चरका प्रबन्ध निर्देशकका रूपमा कार्यरत छन्।
पन्तले नाट्टाको कार्यकालमा पर्यटन क्षेत्रमा दीर्घकालीन प्रभाव पार्ने ‘सिग्नेचर प्रोजेक्ट’ अघि बढाउने प्रतिबद्धता पनि जनाएका छन्। उनका अनुसार सदस्यका दैनिक समस्या समाधानसँगै नेपालको पर्यटन व्यवसायलाई अन्तर्राष्ट्रिय बजारमा थप प्रतिस्पर्धी बनाउन दीर्घकालीन रणनीति आवश्यक छ।
पर्यटन व्यवसायसँगै सामाजिक क्षेत्रमा समेत सक्रिय पन्त ‘KIVO Japan’ का नेपाल संयोजकका रूपमा कार्यरत छन्। EPSA Nepal का संस्थापक सदस्यसमेत रहेका उनले समावेशी पर्यटनको अवधारणालाई प्रवर्द्धन गर्दै आएका छन्।
निर्वाचनको पूर्वसन्ध्यामा पन्तले आफ्ना प्रतिबद्धतालाई ‘प्रतिबद्धता होइन, परिणाम’ भन्ने सन्देशसँग जोड्दै सदस्यहरूसँग प्रत्यक्ष भेटघाट र संवादलाई प्राथमिकता दिएका छन्।
अब आज हुने निर्वाचनमा नाट्टाका सदस्यले पन्तसहितका उम्मेदवारका एजेन्डा, अनुभव र कार्ययोजनामध्ये कसलाई विश्वास गर्छन् भन्ने निर्णय हुनेछ। निर्वाचनको परिणामले आगामी दुई वर्ष नाट्टाको नेतृत्व र कार्यदिशा तय गर्नेछ।
