काठमाडौं । नाबालिकाको डिम्ब किनबेच प्रकरणमा पक्राउ परेकी डा. नुतन शर्मा हाजिर जमानीमा छुटेकी छन् ।
सरकारी वकिलको कार्यालय ललितपुरले बिहीबार शर्मालाई हाजिर जमानीमा राख्न आदेश दिएको हो । बिएन्डबी अस्पतालस्थित आईभीएफ क्लिनिकबाट १७ वर्षीया किशोरीको डिम्ब निकालिएको घटनामा उनीमाथि अनुसन्धान भइरहेको छ ।
फिलिपिन्समा रहेकी शर्मा नेपाल फर्किएपछि अनुसन्धानमा सहयोग गर्ने भन्दै निवेदन दिएर प्रहरीसमक्ष उपस्थित भएकी थिइन् । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार उनलाई बिहीबार नियन्त्रणमा लिएर सोही दिन सरकारी वकिलको कार्यालयमा बयान लिइएको थियो ।
प्रहरी स्रोतका अनुसार बयानका क्रममा शर्माले आफूले कुनै गैरकानुनी काम नगरेको दाबी गर्दै आरोप अस्वीकार गरेकी छन् । बयानपछि सरकारी वकिलको कार्यालयले उनलाई हाजिर जमानीमा छाड्न आदेश दिएको हो ।
यस प्रकरणमा प्रहरीले यसअघि एक महिलालाई पक्राउ गरी मानव बेचबिखनसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ । प्रहरीले साउन १ गते इमाडोलमा ब्युटिसियनको काम गर्दै आएकी राधिका गोतामेलाई पक्राउ गरेको थियो ।
गोतामेले १७ वर्षीया किशोरीलाई आर्थिक प्रलोभनमा पारेर आईभीएफ क्लिनिकमा पुर्याई डिम्ब निकाल्न लगाएको आरोप छ । प्रहरीका अनुसार अनुसन्धानका क्रममा डिम्ब निकालेबापत किशोरीलाई ३० हजार रुपैयाँ दिइएको खुलेको छ ।
प्रहरीले घटनामा संलग्न अन्य व्यक्ति तथा डिम्ब निकाल्ने प्रक्रियामा भएको भनिएको आर्थिक कारोबारबारे समेत थप अनुसन्धान गरिरहेको जनाएको छ ।
