काठमाडौं । प्रधानमन्त्री बालेन शाह र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच आइतबार साँझ बालुवाटारमा भेटवार्ता भएको छ ।
सरकार र पार्टीबीच बढ्दो संशय तथा तिक्तताबीच भएको भेटवार्ता करिब ४५ मिनेट चलेको बताइएको छ । लामिछाने प्रधानमन्त्री शाहलाई भेट्न आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए ।
उच्च स्रोतका अनुसार भेटमा सरकार सञ्चालनमा पार्टीको भूमिका, सरकारका कामकारबाही तथा पार्टी र सरकारबीचको समन्वयलगायत विषयमा छलफल भएको थियो ।
त्यस्तै, लामिछानेको आसन्न भारत भ्रमण र प्रधानमन्त्री शाहले समेत भारत भ्रमण गर्ने तयारीबारे छलफल भएको बताइएको छ । दुवै भ्रमणको तयारी तथा त्यससँग जोडिएका विषयमा उनीहरूबीच कुराकानी भएको स्रोतको दाबी छ ।
भेटमा राजदूत छनोट तथा केही उच्च तहका नियुक्तिका विषयमा समेत छलफल भएको बताइएको छ । स्रोतका अनुसार प्रधानमन्त्री शाह र लामिछानेबीच सरकारमा सहभागी मन्त्रीहरूको कार्यप्रगति र उनीहरूको भूमिकाबारे समेत समीक्षा भएको थियो ।
सरकार र सत्तारुढ दलबीच पछिल्लो समय देखिएको असमझदारी तथा बढ्दो तिक्तताबीच भएको बालेन–रवि भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । यद्यपि, भेटमा भएका छलफलबारे प्रधानमन्त्रीको सचिवालय र रास्वपाले औपचारिक रूपमा विस्तृत जानकारी सार्वजनिक गरेका छैनन् ।
