काठमाडौं । आफ्नो अभिव्यक्तिको आलोचना भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिएका छन् ।
आइतबार फेसबुकमार्फत स्पष्टीकरण दिँदै ढकालले आफूले सिंहदरबारको नाम र त्यसको ‘स्वभाव–भावभंगी’बारे प्रश्न उठाएको बताएका छन् । उनले आफ्नो भनाइलाई वर्तमान परिवर्तनसँग मात्र जोडेर नहेर्न आग्रह गरेका छन् ।
‘त्यो दरबारको स्वभाव–भावभंगी नामजस्तै देखिने हुनुहुन्न भन्ने सन्दर्भ थियो, सत्यको लिगेसीको सन्दर्भ थियो,’ उनले लेखेका छन्, ‘यसपटकको परिवर्तन होइन, पहिले–पहिलेका परिवर्तनमा कति धेरै ठाउँका नाम परिवर्तन भए । त्यसको पनि परिवर्तन गरेर अरू नै नाम राखिदिएको भए हुने थियो भनेको थिएँ ।’
ढकालले आफ्नो पूरा भिडियो हेरेर धारणा बनाउन आग्रह गर्दै आफू आफ्नो तर्कमा अडिग रहेको बताएका छन् ।
‘म मेरो तर्कमा अडिग छु– सिंह दया र करुणाको प्रतीक होइन । सिंह हिंस्रककै प्रतीक हो, घमण्डकै प्रतीक हो, शासककै प्रतीक हो,’ उनले लेखेका छन् ।
आइतबार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै ढकालले राजनीतिक परिवर्तनपछि देशका विभिन्न स्थान तथा विमानस्थलको नाम परिवर्तन भए पनि सिंहदरबारको नाम यथावत रहेको भन्दै प्रश्न उठाएका थिए ।
उनले सिंहदरबारको सट्टा ‘अनामनगर दरबार’ नाम राख्न सकिने धारणा राखेका थिए । ‘हामीसँग सिंह नै छैन, त्यसको नाम सिंहदरबार नै छ र त्यसको केही हाउभाउ, भावभङ्गीहरू त्यो भाषा जस्तै छ । त्यो चिर्नुपर्नेछ,’ उनले कार्यक्रममा भनेका थिए ।
उनको यही अभिव्यक्तिपछि सामाजिक सञ्जालमा आलोचना भएपछि ढकालले फेसबुकमार्फत आफ्नो भनाइको सन्दर्भ स्पष्ट पारेका हुन् ।
