काठमाडौं । मधेश प्रदेशका ८ जिल्लाको ट्राफिक व्यवस्थापनको जिम्मेवारी सम्हालिरहेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैयामाथि दरबन्दी व्यवस्थापनदेखि आर्थिक चलखेलसम्मका गम्भीर आरोप सार्वजनिक भएका छन् ।
कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) ज्ञानेन्द्रबहादुर बस्नेतको नेतृत्वमा रहेको पथलैया ट्राफिक कार्यालयमा केही प्रहरी कर्मचारीलाई लामो समयदेखि दरबन्दीभन्दा बाहिर राखिएको तथा सरुवा व्यवस्थापनमा समेत आर्थिक प्रभाव र व्यक्तिगत पहुँच हाबी भएको आरोप लगाइएको छ ।
प्राप्त विवरणअनुसार सञ्चार शाखामा दरबन्दी रहेका प्रहरी सहायक निरीक्षक (सई) अमित चौरासिया र सञ्चार शाखामै दरबन्दी रहेका प्रहरी सहायक हवल्दार सतीश ठाकुरलाई समेत फिल्डमा परिचालन गरिएको आरोप छ । यद्यपी यस विषयमा बुझ्न एसपीको नम्बरमा फोन गर्दा उनीहरुको केहीदिन अघि मात्रै सरुवा भएको पाइएको छ ।
अर्का सई टंक न्यौपानेको दरबन्दी पथलैयामा नभए पनि उनी करिब एक वर्षदेखि सोही कार्यालयमा कार्यरत रहेको र कार्यालयभित्र आर्थिक व्यवस्थापन तथा रकम संकलनसँग सम्बन्धित गतिविधिमा परिचालन गरिएको आरोप लगाइएको छ ।
स्रोतका अनुसार कार्यालयभित्र केही कर्मचारीलाई लामो समयसम्म एउटै स्थानमा राख्ने र उनीहरूमार्फत व्यवस्थापन मिलाउने गरेको पाइएको छ । कतिपय कर्मचारीविरुद्ध पटक–पटक बेनामी उजुरी तथा गुनासो आए पनि त्यसलाई समेत आर्थिक लेनदेनका आधारमा मिलाउने गरिएको स्रोत बताउँछ ।
त्यस्ता उजुरी मिलाउन २० देखि ३० हजार रुपैयाँसम्म रकम लिने, त्यसपछि आफूअनुकूलका मालवाहक पोस्टमा सरुवा गर्ने तथा आफ्नो समूहबाहिरका कर्मचारीलाई विभिन्न दबाब र उजुरीको माध्यमबाट हटाउने गरिएको पनि पाइएको छ ।
एसपी बस्नेतले कार्यालयमा ‘फिक्स’ कर्मचारी राख्ने र नयाँ कर्मचारी आएपछि सूचना चुहिने डरले आफूअनुकूलको समूहलाई मात्र जिम्मेवारी दिने गरेको आरोप छ । कार्यालयमा कार्यरत कर्मचारीबाट समेत निश्चित रकम उठाउने र संकलित रकम बाँडफाँट हुने गरेको पाइएको छ ।
मालवाहक सवारीसाधनसँग ‘मासिक सेटिङ’को आरोप
यसैबीच, एसपी बस्नेतमाथि विभिन्न व्यवसायी, ढुवानी व्यवसायी तथा बिचौलियामार्फत नियमित रूपमा रकम संकलन हुने गरेको गम्भीर आरोपसमेत लगाइएको छ ।
स्रोतअनुसार भारतीय मालवाहक सवारीसाधन, ओभरलोड कन्टेनर तथा अन्य ढुवानी व्यवसायसँग सम्बन्धित सवारीसाधनलाई आर्थिक प्रभावका आधारमा सहजीकरण गर्ने गरिएको छ । कतिपय सवारीसाधनलाई कानुनी प्रक्रियाअनुसार सम्बन्धित निकायमा पठाउनुपर्ने अवस्थामा सामान्य कारबाही गरेर छाड्ने गरिएको समेत पाइएको छ ।
प्राप्त सूचनामा गोरु तस्करीसँग जोडिएका भनिएका केही व्यक्ति, भीम बोगटी, थानीमाई ढुवानी सेवा, त्रिनेत्र ढुवानी, भारतीय मालवाहक सवारीसाधनका बिचौलिया भनिएका भानु यादव तथा एपी ढुवानी सेवासँग सम्बन्धित पक्षबाट मासिक वा प्रतिगाडीका आधारमा रकम उठाउने गरिएको छ ।
यस विषयमा नाम नखुलाउने सर्तमा एक व्यवसायीले आफूले पथलैया ट्राफिक कार्यालयमा भइरहेको भनिएको आर्थिक चलखेलबारे नेपाल प्रहरीका प्रहरी महानिरीक्षकलाई एसएमएसमार्फत जानकारी गराएको दाबी गरेका छन् । ती व्यवसायीका अनुसार आफूले जानकारी गराए पनि अहिलेसम्म कुनै सुनुवाइ भएको छैन ।
‘मैले प्रहरी महानिरीक्षकलाई एसएमएस गरेर जानकारी गराएँ, तर अहिलेसम्म कुनै प्रतिक्रिया वा सुनुवाइ भएको छैन । अब हेल्लो सरकार, गृह मन्त्रालय तथा अन्य सम्बन्धित निकायमा पनि औपचारिक उजुरी दिने तयारीमा छु,’ उनले भने ।
यस विषयमा कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) नवराज न्यौपानेले अफिसमा काम गर्न नजान्ने, सडकमा उभिन नजान्ने त्यहि मान्छेले सूचना चुहाएको आरोप लगाए । हामीसँग अहिले भन्नैपर्दा कम जनशक्तिमा काम गरिरहेको उनले बताए।
उनले थपे, ‘सञ्चार शाखामा कार्यरत सई चौरसिया र हवल्दार ठाकुरको सरुवा भइसकेको र अर्का सई न्यौपाने यहिँ कार्यालयमा कार्यरत छन् । बाँकी कुरा कसले कहाँ के गर्यो त्यो मलाई थाहा भएन् । जसले जे गरेको छ, त्यो उसैले भोग्ने हो।’
