काठमाडौं । काठमाडौंको टीकाथलीस्थित डेरातर्फ मोटरसाइकलमा जाँदै गरेका एक युवकलाई आफूहरू प्रहरी भएको भन्दै आएको समूहले बाटोमै रोकेर स्कर्पियोमा राखी लगेपछि उनी बेपत्ता भएका छन् ।
पाटन बहुमुखी क्याम्पसमा अध्ययनरत कञ्चनपुरका पुष्पेश भाट शनिबार दिउँसो कोटेश्वरको नरेफाँटबाट टीकाथली जान याङ्गोमार्फत मोटरसाइकल बुक गरेर गएका थिए । तर, टीकाथली पुग्नुअघि नै चारवटा स्कुटर र एउटा स्कर्पियोमा आएका व्यक्तिहरूले उनलाई रोकेका थिए ।
मोटरसाइकल चालक जिलाप तामाङका अनुसार समूहले आफूहरू प्रहरी भएको भन्दै परिचय दिएको थियो । उनीहरूले भाटलाई मोटरसाइकलबाट झारेर स्कर्पियोमा राखी लगेका थिए ।
भाटलाई लैजाँदा समूहमा रहेकी एक महिलाले मोटरसाइकलको यात्राबापतको रकमसमेत तिरेको चालक तामाङले बताएका छन् ।
घटनापछि भाटका भाइ शुभमले टीकाथली प्रहरी चौकी, सातदोबाटो तथा बानेश्वर प्रहरी वृत्तमा पुगेर दाजुको अवस्थाबारे जानकारी लिने प्रयास गरेका थिए । तर, सम्बन्धित प्रहरी कार्यालयबाट भाट आफ्नो नियन्त्रणमा नरहेको जानकारी दिइएको परिवारको भनाइ छ ।
भाटलाई लैजाने समूह वास्तवमै प्रहरी भए वा नभएकोसमेत अहिलेसम्म स्पष्ट हुन सकेको छैन । आफूहरू प्रहरी भएको दाबी गर्दै युवकलाई नियन्त्रणमा लिएर गएको समूहबारे प्रहरीले समेत अनुसन्धान गरिरहेको जनाइएको छ ।
भाट साउन १५ गते परीक्षा दिन कञ्चनपुरबाट काठमाडौं आएका थिए । परीक्षा सकेपछि उनी काठमाडौंमै डेरामा बस्दै आएका थिए ।
शनिबार दिउँसोदेखि सम्पर्कविहीन भएका भाटको अवस्था २० घण्टा बितिसक्दासमेत अज्ञात रहेको परिवारले जनाएको छ । परिवारले घटनाको तत्काल अनुसन्धान गरी भाटको अवस्था सार्वजनिक गर्न प्रहरीसँग आग्रह गरेको छ ।
प्रहरी हुँ भन्दै युवकलाई सार्वजनिक स्थानबाटै नियन्त्रणमा लिएर लगिएको दाबी, तर कुनै प्रहरी कार्यालयले आफूहरूको नियन्त्रणमा नरहेको बताएको घटनाले गम्भीर प्रश्नसमेत उब्जाएको छ । प्रहरीले घटनामा संलग्न समूहको पहिचान र भाटको अवस्थाबारे तत्काल अनुसन्धान अघि बढाउनुपर्ने देखिएको छ ।
